यु–२३ बास्केटबल प्रतियोगिता पिप्ले र केबीए फाइनलमा

पोखरा । पिप्ले बास्केटबल क्लब र केबिए सेतो पोखरामा जारी यु–२३ खुल्ला बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

महेन्द्रपुल युथ क्लबको आयोजनामा पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको पहिलो सेमीफाइनल खेलमा पिप्ले बास्केटबलले पर्वतलाई ६६–५१ को स्कोटरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । दोस्रो सेमिफाइनल खेलमा केबिए सेतोले अर्चलबोटलाई ५३–४५ को स्कोरमा हराउदै फाइनलमा पिप्लेको भेट पक्का गरेको हो ।

वैशाख २८ गतेदेखि सुरु भएको प्रतियोगितामा १३ टीमको सहभागीता रहेको थियो । शनिबार नै भएको क्वाटरफाइनलमा पिप्ले बास्केटबलले आयोजक महेन्द्रपुल क्लबलाई ६९–५६ स्कोरमा हराउँदै सेमीफाइनल प्रवेश गरेको थियो । यस्तै केबिए बास्केटबलले मर्दीखोलालाई ६६–५१ को स्कोरमा हराउँदै सेमीफाइनलमा पुगेको थियो ।

दुई दिन हुने प्रतियोगिताको फाइनल खेल भने वर्षाका कारण रोकिएको छ । खेल रोकिएसँगै आयोजकले आइतबार विहान फाइनल खेल गराउने भएको हो । महेन्द्रपुल क्लबको इतिहास निकै गर्विलो रहेको छ । २०३८ सालमा भएको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितादेखि २०४० सालमा भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासम्म निरन्तर सहभागी सँगै खेल सामग्रीहरु समेत सहयोग गरेको थियो ।

२०३८ सालमा काठमाडौंमा भएको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा यस क्लबका अधिकांश खेलाडी सहभागी भएका थिए । त्यो क्रम लगातार तेस्रो संस्करणसम्म चलेको थियो । बिचमा क्लब निष्क्रिय रहेको अध्यक्ष आनन्द तझ्याले बताए । महेन्द्रपुल क्लबको स्थापना हुँदा पोखरामा अन्य क्लबको स्थापना भइसकेको थिएन । उक्त क्लबको स्थापनापश्चात अन्य क्लबको स्थापना भएको थियो । सोही क्लबले विधिवत रुपमा २०६३ सालमा दर्ता भएको हो ।

प्रतियोगिता संयोजक सेजोल जोजिजुले युथ क्लब भएकाले ग्रासरुटस्तरबाट जानका लागि पहिलो प्रतियोगिता नै उमेर समूहको गराएको बताए । फाइभ वाई फाइभको आधारमा खेलाइएको प्रतियोगिताको विजेताले ४० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद २५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा हाइस्कोरर र मस्ट भ्यालुएवल प्लेयरले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक जोजीजुले जानकारी दिए ।

 

You might also like

Comments are closed.