पोखरा । फेवातालमा जलकुम्भी सरसफाई अभियान आजबाट शुभारम्भ भएको छ । पर्यटकीय राजधानी पोखरामा अवस्थित यस फेवातालमा हरेक बर्ष जलकुम्भी सरसफाई अभियान हुदै आएको छ ।
सोही अभियान अन्तर्गत पोखरा–१८ खपौदी ढल्केबरस्थित फेवातालमा वातावरण संरक्षणका लागि जलकुम्भी सरसफाई अभियान आज शुभारम्भ गरिएको हो । महाअभियान कास्कीको आयोजनामा ‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरादारी’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन भएको छ ।
फेवातालको जलकुम्भी सफाई अभियान नागरिक महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलको अध्यक्षतामा आज विहान शुभारम्भ गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हेडक्वाटर कास्कीका गणपति एसपी अरुण पौडेल शर्माले सफाइ अभियानले तालको संरक्षण र सफाईमा योगदान पुग्ने विश्वास व्यक्त गरे । हरेक वर्ष चैत्रमा हुने सो कार्यक्रम विविध कारणले ढिला हुन गएकाले यो वर्ष बैशाखको अन्तिम साता सुरुवात भएको हो ।
आज सुरुवातको अवसरमा सशस्त्र प्रहरी, नेपाली सेना, महानगरिय प्रहरी, स्थानीय आमा समूह, नागरिक समाज, रेवान, सामाजिक संघसंस्था, पत्रकारहरुले सरसफाइमा भाग लिएको पोखरा महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराईले जानकारी दिएका छन् । वडाध्यक्ष भट्टराईका अनुसार भोलिदेखि जलारी समुदायले ज्यालासहित जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता दिने छन् ।

कार्यक्रममा पोखरा महानगरका वडा नं.६ र १८ का वडाध्यक्ष सहित रेवान, विभित्र समूहका अभियान्ताहरु, आमा समूहहरु, जलहारी समुदाय, पर्यटन व्यवसायीहरु, सशस्त्र प्रहरीको कालिका गण, नेपाली सेनाको कृष्णदल गण, रणचन्डी गण, पोखरा महानगरको महानगरी प्रहरी लगायत स्थानीय र सञ्चारकर्मी गरी करिव ३ सय जना सहभागी रहेको बताइएको छ ।






Comments are closed.