पोखरा–देहरादुन बस सेवा शुरु

पोखरा, ८ जेठ

पोखरा–देहरादुन सिधा बस सेवा सञ्चालन आएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समिति मातहतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले पोखरा–देहरादुन बस सेवा बुधबारदेखि सञ्चालन गर्न थालेको हो । भारतीय धार्मिक पर्यटक र नेपाली तीर्थयात्रीलाई लक्षित गर्दै शुरु गरिएको पोखरा–देहरादुन बस सेवाको बुधबार पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले उद्घाटन गरे ।

उद्घाटन लगत्तै पोखरादेखि देहरादुनका लागि बस छुटेको छ । पोखराबाट पहिलोपटक १२ जना यात्रु बोकेर पोखरादेखि देहरादुनका लागि बस छुटेको हो । देहरादुनका लागि पोखराबाट छुटेको बसलाई प्रमुख अतिथि साईसहित अन्य अतिथिहरुले नेपालको झण्डा हल्लाएर विदाई गरेका थिए ।

jutta mela

पृथ्वी राजमार्ग बस समिति अन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले हप्तामा एक दिन पोखरा–देहरादुन बस सेवा सञ्चालन गर्न थालेको हो । सुविधासम्पन्न बस पोखराबाट प्रत्येक बुधबार पूर्वाह्न साढे ११ बजे छुट्ने र देहरादुनबाट प्रत्येक शनिबार छुट्ने मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सका अध्यक्ष केशबहादुर अधिकारीले जानकारी दिए ।

पोखराबाट झन्डै १३ सय किलोमिटर दुरीको देहरादुनसम्म २४ घण्टामा यात्रुलाई पु¥याउने गरि बस सेवा सञ्चालन गरिएको अधिकारीले बताए ।

मोर्डन इरा टुर्स एण्ड ट्राभल्सका अध्यक्ष केशबबहादुर अधिकारीले सिधा बस सञ्चालनले देहरादुन जाने धार्मिक पर्यटक, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि जानेलाईपनि सहज हुने बताए । धार्मिक पर्यटनको माध्यमबाट भारतको हरिद्वार, ऋषिकेशसहित नेपालको मुक्तिनाथसम्म आउजाउ गर्ने तीर्थयात्रीलाई सहजता थप्ने उनको भनाई छ । पहिलो चरणमा साताको एकपटक छुट्ने बस सेवा यात्रु बढेको खण्डमा बढाउन सकिने उनले बताए । अहिले ३५ सिट क्षमताका एसी बसबाट सेवा दिन थालेको उनले बताए । एकतर्फी यात्रुको भाडा भारतीय रुपियाँ २७ सय पर्नेछ । भारतको उत्तराखण्ड राज्यको देहरादुनमा झन्डै ५ लाख नेपालभाषी रहेको र धार्मिक पर्यटकको आउजाउमा सहज पुग्ने गरि सेवा बिस्तार गर्न थालेको उनले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले धेरै पहिलेदेखि पोखरा–देहरादुन बस सेवा सञ्चालन गर्ने आफ्नो सपना रहेको बताउँदै त्यो सपना मोर्डन ईराले पूरा गरिदिएको भन्दै धन्यवाद दिए । उनले पोखरा–देहरादुन बस सेवाले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

समितिले जेठ महिनाभित्रै भारतको पटनासम्म पनि पोखरादेखि सिधा बस सेवा संचालनको तयारी गरेको समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

मोर्डन इराले नै एक दशक अघिदेखि पोखरा–दिल्ली बस सेवा सञ्चालनमा ल्याएको थियो । हाल पोखरा–दिल्ली रुटमा दैनिक २ वटाका दरले सञ्चालन हुने गरेका छन् ।

You might also like

Comments are closed.