रामपुर (पाल्पा) । सरकारले आगामी आर्थिक वर्ष वर्ष २०८१/८२ को सार्वजनिक गरेको वजेटमा कालीगण्डकी कोरिडोर निर्माण कार्यलाई तीव्रता दिने जनाइएको छ ।
अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी कोरिडोर र सिद्धबाबा सुरुङमार्ग योजना समावेश भएका छन् ।
यातायात पूर्वाधारतर्फ कालीगण्डकी कोरिडोरको निर्माण कार्यलाई तीव्रताका साथ अगाडी बढाइने अर्थमन्त्री पुनको वजेट भाषणमा उल्लेख गरिएको छ । कालीगण्डकी कोरिडोरको गैंडाकोट–राम्दी–मालढुंगा खण्ड र मालढुंगा–बेनी–जोमसोम–कोरोला खण्ड गरी थप ५० किलोमिटर स्तरोन्नती गरिने वक्तव्यमा उल्लेख छ ।
यस्तै पाल्पा बुटवल सडकखण्ड अन्तर्गत पर्ने सिद्धबाबा क्षेत्रमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गर्ने वजेट भाषणमा उल्लेख छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको निर्माणको कार्य भइरहेको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा बेला बेलामा सडक माथिबाट पहिरो खसेर यात्रुले ज्यान गुमाउनु परेको छ । यो क्षेत्र दुर्घटनाको जोखिम बनेको छ । जोखिम मोलेर यात्रा गर्न यात्रु बाध्य छन् । जोखिमलाई मध्यनजर गर्दै यहाँ सुरुङमार्ग बनाउने कार्य भइरहेको छ ।
आगामी आर्थिक वर्षका लागि कुल खर्च रु. १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरिएको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ ।
यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु. ४ खर्ब ८ अर्ब ८७ करोड विनियोजन रहेको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु. १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट रु. ५२ अर्ब ३३ करोड व्यहोर्दा रु. ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ ।
सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु. २ खर्ब १७ अर्ब ६७ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु. ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ ।






Comments are closed.