भरतपुरमा फुटबल खेल सम्बन्धी सरोकारवालासँग छलफल

भरतपुर । फुटबल क्लब ‘एफसी चितवन’ ले नेपालमा फुटबल खेलका विभिन्न आयमबारे सरोकारवाला संग अन्तक्र्रिया गरेको छ ।

एफसी चितवनले भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभालाई हुर्काउने र दिगो भविष्य निर्माणको पहलका बारेमा छलफल गरेको हो । फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय निकाय, सङ्घसंस्था, निजी संस्था र खेलाडीको भूमिकाबारे छलफल भएको छ ।

साथै सरोकारवाला बीच समन्वय, लगानीमैत्री वातावरण सिर्जना, लिग प्रणालीलाई पुर्नसंरचना र नीति निर्माणमा खेलाडीको आवाजलाई समावेश गर्ने लगायत महत्वपूर्ण विषयमा छलफल भएको बताइएको छ ।

अन्तक्र्रियाको अवसरमा खेलकुद विज्ञान, पोषण, शारीरिक तन्दुरुस्ती, खेलकुद मनोविज्ञान र चोटपटक रोकथाम आवश्यक लगायतका विषयमा समेत विज्ञले जानकारी गराएका छन् । आधुनिक उपकरण तथा प्रस्तुतिबाट विद्यार्थी खेलाडीहरू उत्साहित भएका छन् । यसलाई अबका प्रशिक्षण र विकासमा जोड्नुपर्ने खेलाडीले माग गरेका छन् ।

अन्तक्र्रियामा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज विक्रम नेम्बाङ, एफसी चितवनका अध्यक्ष सचिन ढकाल र खेलाडी सङ्घका अध्यक्ष विक्रम लामा लगायत ५ सय भन्दा बढी खेलाडी, विद्यार्थी र फुटबलप्रेमी सहभागी थिए । एफसी चितवनले आफ्ना साझेदारसँग मिलेर स्थानीय तहबाटै फुटबलको रूपान्तरणको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

You might also like

Comments are closed.