आईबी शिक्षा प्रिमियरमा नै किन ?

काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न भएको छ । होटल म्यारियटमा भएको समारोहका प्रमुख अतिथि उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ रहेका हुन् । दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठले देश साथै समाज विकासमा विद्यार्थीको भूमिका महत्पूर्ण रहेकाले आगामी दिनमा अझ सक्रिय भएर अगाडि बढ्न अनुरोध गरे ।

आईबी एजुकेसन प्रणाली अन्तर्गत प्राथमिक वर्ष कार्यक्रम मध्ये वर्ष कार्यक्रम (एमवाईपी) र माध्यमिक तहको डिप्लोमा (आईबीडीपी) कार्यक्रम सञ्चालन गरेर आईबी कन्टिनम स्कुलको परिचय बनाएको नेपालकै एकमात्र शिक्षण संस्था प्रिमियर इन्टरनेसनलले पहिलो वर्षलाई एक समारोह आयोजना गर्दै दीक्षित गरेको हो ।

माध्यमिक तहको डिप्लोमा र राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ तहसम्मको अध्ययन पूरा गरेका ९१ विद्यार्थीलाई विद्यालयले दीक्षित गरेको प्रिमियर इन्टरनेसनल विद्यालय एकेडेमिक निर्देशक प्रबिना थापाले बताइन् । जसमा आईबीडीपी कार्यक्रमका ४१ विद्यार्थी, एनइबीका ५० विद्यार्थी छन् । आईबी कन्टिनम स्कुलबाट आईबीडीपी अध्ययन पूरा गर्दै दीक्षान्त प्रमाणपत्र हासिल गर्ने नेपालको यो पहिलो ब्याच हो ।

पीवाईपी, एमवाईपी र डीपी पाठ्यक्रमको अध्ययन पूरा गरेका विद्यार्थीले यसबीचमा आफ्नो जीवनलाई आवश्यक शिक्षा हासिल गरेको प्रिमियर स्कुलकी निर्देशक पवित्रा लिम्बू बताउँछिन् । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलबाट विद्यार्थीले १५ वर्षमा हासिल गरेको ज्ञान र शिक्षाले उनीहरूको सुनौलो भविष्य निर्माणमा ठोस योगदान दिने निर्देशक लिम्बूले बताइन् । प्रवन्ध निर्देशक वसन्त थापाले उच्च शिक्षाको लागि विद्यार्थी विदेश गएपनि स्वदेशमा फर्किएर काम गर्नुपर्ने बताउँछन् ।

सन् २००८ मा ललितपुरको खुमलटारमा स्थापना भएको प्रिमियर स्कुलले स्विटजरल्यान्डबाट विस्तारित अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रणाली आईबी एजुकेसन सञ्चालनको मान्यता पाएको डेढ दशक पुगेको छ । आईबी एजुकेसनबाट कक्षा १० उत्तीर्ण आफ्नै ब्याचलाई आईबीडीपी कार्यक्रममा भित्र्याएर नेपालकै एकमात्र आईबी कन्टिनम स्कुल बन्न प्रिमियर सफल भएको हो ।

यस प्रणाली अन्तर्गत आईबीका तीनवटै कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई मात्र आईबी वर्ल्ड एजुकेसनबाट आईबी कन्टिनमको उपाधि दिएर प्रमोसन गरिन्छ । जुन उपाधि हासिल गर्दै प्रिमियर नेपालको एकमात्र आईबी कन्टिनम स्कुलको पहिचान बनाउन सफल भएको छ । विश्वभरमा आइबीका ७ प्रतिशतमात्र आईबी कन्टिनम विद्यालय छन् ।

प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलले अन्तर्राष्ट्रियस्तरको शिक्षा दिँदै आएको छ । विशिष्ट श्रेणीको शिक्षा प्रदान गर्ने यस स्कुलको आफ्नै सुविधा सम्पन्न भौतिक संरचनाबाट पठनपाठन सञ्चालन हुँदै आएको छ । प्रिमियर इन्टरनेशनलले अंगालेको आईबी शिक्षण विधि विश्वकै नमुना र उपयुक्त विधि हो ।

विद्यार्थीको विशेषता पहिचान गर्दै गुणस्तरीय विधि मार्फत अहिलेको समय सुहाउँदो शिक्षण प्रणालीमा अध्यापन गराउँदै आएकाले विद्यार्थीको संख्या पनि उल्लेख्य छ । यस शैक्षिक संस्थाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिँदै आएको छ । ग्लोबल मार्केटमा फिट हुन सक्ने दक्ष विद्यार्थी उत्पादन गर्नु प्रिमियरको लक्ष्य हो ।

नेपालमा प्रिमियर इन्टरनेशनल स्कुलले सुरु गरेको आईबी शिक्षा विश्वभरमै लोकप्रिय कार्यक्रम हो । आईबीलाई उत्कृष्ट पाठ्यक्रम मानिनुका साथै साथै खोजमूलक शिक्षा भनेर पनि चिनिन्छ । आईबी शिक्षामा विभिन्न उमेर समूहका विद्यार्थीका लागि छुट्टाछुट्टै कार्यक्रम हुन्छ । आईबी शिक्षा ३ देखि १९ वर्षका उमेर समूहका विद्यार्थीलाई लक्षित गरी दिइन्छ । आईबीमा ३ देखि ११ वर्षका विद्यार्थीको लागि पीवाईपी, ११ देखि १६ वर्षका विद्यार्थीको लागि एमवाईपी र १६ देखि १८ वर्षका विद्यार्थीका लागि डिप्लोमा कार्यक्रम (डीपी) गरी तीन मुख्य कार्यक्रम रहेका छन् ।

आईबी शिक्षाले विद्यार्थीको व्यक्तिगत क्षमता बृद्धि, अध्ययन बढाउनु साथै आशावादी बनाउने र चुनौतीको सामना गर्न सक्ने बनाउँछ । यस कार्यक्रमले विद्यार्थीलाई ज्ञानको अभिवृद्धि गर्दै सीप विकास गर्न मद्दत गर्छ ।

 

 

You might also like

Comments are closed.