आरन व्यवसायबाट राम्रो आम्दानी

अत्तरिया (कैलाली) । परम्परागत सीपमा आधारित आरन व्यवसायबाट यहाँका व्यवसायीले राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय आरन व्यवसायी घट्दै गएका भएपनि व्यवसायमा लागेकाले भने राम्रो आम्दानी गर्न थालेका हुन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–११ बेलाका खेमबहादुर विकले पुराना घरायसी प्रयोजनका सामान मर्मत गरेर मात्रै दिनमा रु १५ सयदेखि रु २ हजारसम्म आम्दानी गर्ने गरेको बताए ।

“कुनै दिन रु ३ हजारसम्म पनि आम्दानी हुन्छ, नयाँ सामान बनाउनसके त राम्रै कमाइ हुन्छ, पुराना मर्मत गरेर पनि कमाइ ठिकठिकै हुन्छ, दैनिक रु १५ सयसम्म बचत हुन्छ”, उनले भने, “खेतीपाती गर्न जग्गा जमिन छैन्, अन्य रोजगारी पनि केही छैन, ७ जनाको परिवार छ, छोराछोरीको लालनपालन, पढाइलेखाइ खर्च यसैबाट चलाएको छु ।”

नयाँ बनाएको बञ्चरोलाई रु ३ हजारसम्म, हँसियालाई रु ५ सयदेखि रु १५ सय सम्ममा बिक्री गर्ने गरेको विकको भनाइ छ । “कृषि तथा घरायसी प्रयोजनका सबै सामान बनाउने सीप छ”, ४० वर्षीय विकले भने, “आधुनिक औजारको प्रयोग गरेर काम गर्न पाएको भए त मनग्य आम्दानी हुन्थ्यो ।”

त्यस्तै जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारका शेरबहादुर तिरुवाले आरन व्यवसायबाट राम्रै आम्दानी हुने गरेको बताएका छन् । उनी भन्छन्, “दैनिक रु १५ सयदेखि रु २ हजारसम्म कमाइ हुन्छ, कुनैदिन रु ३ हजारसम्म पनि कमाइ हुन्छ, खर्च कटाएर दैनिक रु १५ सयसम्म बचत हुन्छ ।”

उनले सम्पूर्ण घर खर्च यसै आरन पेसाबाट चलाएको बताउँछन् । उमेरले ५० वर्षीय तिरुवाले भने, “१० जनाको परिवार यसै पेसाबाट पालेको छु, अरु आम्दानीको स्रोत केही छैन ।” औजार आधुनिक किसिमका भए आरन पेसाबाट अझ राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ ।

“हामीले काम गर्ने औजार पुरानै भए, यी औजारबाट सामान बनाउन मेहनत धेरै लाग्छ”, उनले भने, “औजार आधुनिक किसिमका भएको भए सामान बनाउन सजिलो हुन्थ्यो, आम्दानी पनि बढी लिन सकिन्थ्यो, अरुलाई रोजगारी पनि दिन सकिन्थ्यो ।”

उनले कृषि तथा घरायसी प्रयोजनका सबै सामान सबै सामान बनाउने गरेको बताएका छन् । उनी भन्छन्,“नयाँ तयार गरिएको एउटा हँसिया रु एक हजारदेखि रु १५ सय, खुडा रु ३ हजारसम्ममा बिक्री हुन्छ ।”

त्यस्तै सोही ठाउँका खडक तिरुवाले पनि आरन व्यवसायबाट दैनिक रु १५ सयसम्म आम्दानी गर्ने गरेको बताए । “मेहनत पनि छ, आम्दानी पनि हुन्छ, मैले कुटो, कोदालो, बञ्चरो, हँसियालगायत कृषि तथा घरायसी प्रयोजनका सबै सामान बनाउने गरेको छु”, तिरुवाले भने ।
उनको ५ जनाको परिवार छ । सबै घरखर्च, छोराछोरीको पढाइलेखाइ यसैबाट धानेको उनको भनाइ छ । आरनकै काम सिकेकाले अरु काम गर्न मन नलाग्ने उनले बताए । उनका अनुसार पुरानै शैलीमा काम गरिने भएकाले मेहनत बढी लाग्छ ।

“व्यवसाय समयानुकूल आधुनिकीकरण हुन सके राम्रै आम्दानी हुन्थ्यो”, उनले भने, “आरनमा काम गर्न दुई जना अनिवार्य चाहिन्छन्, आधुनिक किसिमका विद्युतीय औजार भएको भए काम गर्न सजिलो हुन्थ्यो, आरनको काम गर्ने पनि बढ्थे होला ।” रासस

You might also like

Comments are closed.

Secret Link