घोराही(दाङ) । घोराही उपमहानगरपालिका–१७ गैरागाउँका ठाकुरप्रसाद चौधरीको मुख्य पेसा बङ्गुरपालन हो । उनले यो व्यवसाय गरेको पनि १२ वर्ष भइसक्यो । स्वदेशमै बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि पेसामा बङ्गुरपालन रोजेको उनी बताउँछन् । उमेरले ३५ वर्ष पुगेका ठाकुरले रमन बङ्गुर तथा कृषि फर्ममार्फत व्यवसाय गर्दै आएका छन् ।
रोजगारीका लागि ठूलो लगानीमा विदेश गएर अर्काको देशमा पसिना बगाउनुभन्दा स्वदेशमै आत्मनिर्भर बन्नका लागि व्यवसाय गर्दै आएको र आम्दानी पनि राम्रो हुँदै गएको उनले बताए । “ठूलो लगानी गरेर विदेसिनुभन्दा सोही खर्चमा मेहनत गरे राम्रो आम्दानी हुन्छ”, उनले भने, “पैसा पनि राम्रो कमाइने र आफैँ मालिक पनि बन्न सकिन्छ ।”
उनको फार्ममा अहिले साना ठूला गरेर ९० बङ्गुर रहेका छन् । झण्डै ५० साना पाठापाठी, ठूला माउ र बेलन ४० छन् । एक वर्षसम्म पहिले बजारीकरणमा केही समस्या भएपनि अहिले भने विस्तारै सहज हुँदै गएको उनी बताउँछन् ।
उनी भन्छन्, “मेरो आफ्नै पसल पनि रहेको छ, ठूला बङ्गुरलाई पसलमै काटेर मासु बेच्ने गरेको र साना पाठापाठीलाई एक महिना पुगेपछि बेच्दै आएको छु, जसका कारण बजारीकरणको त्यति समस्या भएको छैन् ।” किसान ठाकुरले पाठापाठीलाई रु ५ हजारका दरले बिक्री पनि गर्दै आएका छन् ।
मासु भने उनले रु ३८० किलोका दरले दैनिक ८० देखि १२० किलो बिक्री गर्दै आएको बताउँछन् । बङ्गुरपालन व्यवसायबाट उनले वार्षिक रु ६ देखि ७ लाख बचत गर्न सफल भएको बताएका छन् । सुरुमा घोराहीमा रहेको ग्रामीण महिला उत्थान केन्द्रबाट रु ५० हजार ऋण लिएर १० वटा पाठापाठीबाट सुरु गरेको व्यवसायले सोँचेभन्दा राम्रो प्रतिफल दिँदै गएको उनको भनाइ छ । उनले फार्ममा र पसलमा गरेर दुई स्थानीय युवालाई रोजगारीसमेत दिएका छन् ।
उनले व्यवसायका लागि १८ कठ्ठा जग्गा भाडामा लिएको र त्यसको भाडा वाषिक रु एक लाख तिर्ने गरेको बताए । विभिन्न समयमा बङ्गुरमा लाग्ने रोगका कारण किसानलाई समस्या पर्ने भएपनि यस व्यवसायको सम्भावना आगामी दिनमा राम्रो रहेको उनको अनुभव छ । अन्य कुनै रोजगार नभएकाले यसैलाई निरन्तरता दिँदै जाने उनले बताए ।
कृषिलाई व्यावसायिक रुपमा अगाडि बढाएका किसानलाई राज्यले पनि विभिन्न सहयोगका कार्यक्रम ल्यायो भने अझ सहज हुने उनको भनाइ छ । अन्य युवालाई पनि धेरै रकम खर्चेर विदेश जानुभन्दा स्वदेशमै कुनै पनि व्यवसायमा जोडिएर जीविकोपार्जन गर्न उनको आग्रह छ । रासस
Comments are closed.