विश्व किसान संगठनको सञ्चालकमा नेपालका प्रतिनिधि पाठक निर्वाचित

काठमाडौं । एफ ए ओ को मुख्यालय इटालीको रोममा भएको विश्वभरका किसानको छाता संगठन विश्व किसान संगठनको सञ्चालकमा नेपालका खेमबहादुर पाठक निर्वाचित भएका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहेका पाठक एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित भएका हुन् । पाठकसहित विश्व किसान संगठनको सञ्चालकमा विश्वभरबाट ६ जना निर्वाचित भएका छन् ।

विश्वभरका सक्रिय किसान संघ संगठनको छाता संगठनका रुपमा रहेको विश्व किसान संगठनमा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हुन् । किसान र कृषि क्षेत्रको रुपान्तणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको विश्व किसान संगठनको उच्च तह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनु आफैमा खुसी र गौरवको कुरा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघले जनाएको छ ।

गरिबी निवारण, साना किसानको समृद्धि, ग्रामीण अर्थतन्त्र सुधारसहित महिला नेतृत्व विकासका क्षेत्रमा सहकारी अभियान र साना किसान अभियानमार्फत निरन्तर सक्रिय पाठक इटालिको रोममा भएको विश्व किसान संगठनको महासभा २०२४ को सदस्य संगठनको चुनावमा सर्वसम्मतले निर्वाचित भएका छन् । विश्व किसान संगठनको महासभाको निर्वाचनको यो परिणामले नेपालको सहकारी अभियान, साना किसान विकास अभियान परिवार, सरोकारवाला, किसान, सहकारी अभियन्ता तथा सम्पूर्ण नेपालीलाई उत्साहित बनाएको छ ।

धादिङ्ग जिल्लाको विकट गाउँबाट निरन्तर सहकारी अभियानमा संलग्न पाठक विभिन्न उनीसंग गाविस, साना किसान विकास आयोजना, साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष, जिल्ला संघ, हुँदै साना किसान विकास बैंकको सञ्चालक समितिको सदस्य, नेपाल कृषि सहकारी केन्द्रिय संघको अध्यक्ष, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको अध्यक्ष, रास्ट्रिय सहकारी महासंघको उपाध्यक्षको भूमिकामा रहेर काम गरेको अनुभव छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था र साना किसान अभियानलाई सशस्त्र द्धन्दकाल, राजनीतिक अस्थिरता तथा विभिन्न कठिन अवस्थाबाट जोगाउँदै आज यो अवस्थामा ल्याउन पाठकको महत्वपूर्ण योगदान रहेको छ । विश्वभरका सबै विशिष्ट प्रतिनिधिहरुको विस्वासले विश्व किसान संगठनको  सञ्चालक समितिको सदस्यको रुपमा खेम बहादुर पाठकको कार्यकाल विश्वभरिका सम्पूर्ण किसानहरुको हित र स्वर्णीम भविष्य निर्माणका लागि महत्वपूर्ण रहनेछ ।

You might also like

Comments are closed.