कञ्चन क्यापिटलको पाँचौं वार्षिकोत्सव सम्पन्न

पोखरा । कञ्चन क्यापिटल प्रालिले पाचौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । छैटौं वर्षमा प्रवेश गरेको अवसरमा प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरण लगायत कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको हो ।

सोही अवसरमा मंगलबार गरिएको रक्तदानबाट ५६ युनिट रगत सङ्कलन भएको प्रालिका अध्यक्ष विमलमान गुभाजूले जानकारी दिए । मानव जीवन रक्षाका निम्ति रक्तदान प्राथमिकतामा परेको उनले बताए । बुधबार सम्मान, पुरस्कारसहित वार्षिकोत्सव कार्यक्रम गरिएको छ ।

कार्यक्रममा ‘कृष्णमान स्मृति उत्कृष्ट कर्मचारी–२०८१’ बाट मञ्जु भण्डारी र निर्मला गुरुङ श्रेष्ठ पुरस्कृत भएका छन् । प्रालिमा रहेर उत्कृष्ट कार्य गरेका उनीहरुलाई नगदसहित सम्मानपत्र, मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

रक्तदान गर्ने शेयरधनी, कर्मचारी तथा परिवारजन रक्तदातालाई कदरपत्र प्रदान गरिएको छ । शेयरधनी राकेशमान बुद्धाचार्यलाई उनकै छोरीले मृगौला प्रत्यारोपण गरी सहयोग गरेकाले सोही कार्यक्रममा छोरी रिकेशाना बुद्धाचार्यलाई सम्मान गरिएको छ । उच्च शिक्षा हासिल गरेका शेयरधनीका छोरीहरु रिकेशाना बुद्धाचार्य र सुविक्षा गुभाजूलाई पनि सम्मान गरिएको छ । यसबाहेक प्रालिले वर्षभर विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गरेको छ ।

विंस.२०७६ सालमा स्थापना भएको प्रालिको पोखरा महानगरका विभिन्न स्थानमा ५ वटा सुन र एउटा चाँदीको व्यावसायिक फर्म छ । अर्चलबोटमा कञ्चन डिमार्टमेन्टल स्टोर पनि सञ्चालनमा छ । १७ जना सेयर सदस्य रहेको प्रालिमा करिब २ सय कर्मचारी कार्यरत छन् ।

 

You might also like

Comments are closed.