भद्रपुर (झापा) । यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा रु ८५ करोड ७५ लाख ५४ हजार ५८९ राजस्व सङ्कलन गरेको छ । कार्यालयले जेठ महिनामा मात्रै रु ६ करोड २४ लाख ४० हजार ४१७ राजस्व सङ्कलन गरेको जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख बाबुराम शर्मा लुइँटेलका अनुसार चालु आवको जेठ महिनासम्म सवारीसाधन करतर्फ रु ६९ करोड ७७ लाख ८९ हजार ७७९, प्रशासनिक सेवा शुल्कवापत रु १ करोेड ७९ लाख ९३ हजार १८३, सवारीचालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु १४ करोड १६ लाख ८८ हजार १६७ राजस्व असुली गरेको छ ।
चालु आवको ११ महिनाको अवधिमा ९ हजार ५४२ सवारीसाधन दर्ता हुँदा ३३ हजार ११९ सवारी नवीकरण भएका लुइँटेलले बताए । सोही अवधिमा १२ हजार ३२२ नयाँ चालक अनुमतिपत्र, १६ हजार ५४८ को नामसारी हुँदा १० हजार २६३ सवारी जाँचपास भएका उनले जानकारी दिए ।
चालु आवको ११ महिनामा ६ हजार ७१४ मोटरसाइकल दर्ता हुँदा १६ सय ३८ ई–रिक्सा दर्ता भएको कार्यालयले जनाएको छ । यहाँ हप्ताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको छ । रासस






Comments are closed.