मेचीनगरले दियो तोरीखेती गर्ने किसानलाई करिब २७ लाख अनुदान

झापा । मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई रु २६ लाख ८३ हजार अनुदान प्रदान गरेको छ । चालु आर्थिक वर्षमा नगरका १५ वडामा रहेका ८३३ किसानलाई तोरीखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत अनुदान सहयोग उपलब्ध गराएको हो ।

कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले नगरलाई तोरीमा आत्मनिर्भर बनाउने उद्देश्यले तोरी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको र कृषकलाई प्रोत्साहनका लागि अनुदान सहयोग प्रदान गरेको बताए । उनका अनुसार नगरले तोरी खेती प्रवर्द्धनका लागि किसानलाई उत्पादनसँग जोड्न एक किलोग्राम तोरी उत्पादनमा रु १५ अनुदानको व्यवस्था गरेको थियो ।

कम्तीमा पाँच कठ्ठादेखि बढीमा एक बिघा जमिनमा तोरीखेती गर्ने किसानलाई अनुदान रकम भुक्तानी गरिने व्यवस्थाअनुसार ८ हजार ९९० कठ्ठा जग्गामा तोरीखेती गरेका किसानलाई अनुदान रकम वितरण गरिएको कृषि शाखा प्रमुख प्रधानले जानकारी दिए । रासस

You might also like

Comments are closed.