दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म

सुन्दरबजार (लमजुङ) । लमजुङ जिल्लाको दोर्दीका राजेन्द्र विकलाई दारबाट निर्माण गरिने विभिन्न हस्तकलाका सामग्री बनाउने कामले भ्याइनभ्याइ छ । यतिबेला वर्षायाममा गाउँका अधिकांश खेत रोपाइँमा व्यस्त रहँदा पनि उनी भने घरसँगैको कटेरामा बसेर दारको काठबाट विभिन्न सामग्री बनाउनै व्यस्त छन् ।

श्रीकृष्ण हस्तकला उद्योगको नाउँमा दर्ता भएको त्यही टहरोमा बनेका ससाना ठेकी, रक्सी राखिने कप, कप, कचौरा, थालदेखि करुवासम्मका सामग्रीहरु निर्माण हुने गर्दछन् । ३७ वर्षीय राजेन्द्र विकले आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता मात्र दिनु भएको छैन, व्यावसायिक रुपमा दारका सामग्री बनाई राम्रो आम्दानी पनि गरेका छन् ।

जङ्गलमा प्रशस्त पाइने दारको काठबाट बनाइने ठेकी किन्न पहिलेदेखि मानिसहरु दोर्दी पुग्ने गर्दथे । हातले काटेर बनाइएका ठेकी लिएर गाउँघरमा बेच्दै आउनेहरुले शुरुको समयमा अन्नसँग साटेर र पछि नगदमा बिक्री गर्दथे । परम्परागत रुपमा निर्माण गरिंदै आएको घरासयी प्रयोजनमा आउने दारका विभिन्न सामग्रीहरुलाई उनले समयानुकूल परिमार्जन गर्दै लगेका छन् । प्रविधिसँगै सामानहरुका आकार प्रकार र बनोट पनि परिस्कृत बन्दै गएका छन् । सानो आकारमा उत्पादन गरिएका ठेकी, रक्सी पिउने कप र करुवा बनाउन राजेन्द्र विकलाई विद्युत्बाट चल्ने मेशिनले सजिलो बनाएको उनले बताए ।

राजेन्द्रका बाबुले ठेकी बनाउँदा छालाको प्रयोग गरी दुई जनाले चलाउने घुर्रा हुन्थ्यो, यसैलाई दुईतिरबाट तानेर घुम्दै गरेको तिखो औजारबाट काठलाई छेडेर ठेकी तयार हुन्थ्यो । उनका दाजुले त्यसलाई अलि परिमार्जन गरी पानीको धाराबाट मदानी घुमाएर काम गर्न थाले । राजेन्द्रले दाजुको पछिपछि लागेर ठेकी बनाउन सिकेका थिए ।

jutta mela

सुरुआती समयमा पुख्र्यौली पेसा अँगालेका विकले ठेकी उत्पादन गरेर गाउँगाउँसम्म पु¥याएको उनी स्मरण गर्छन् । ठेकी बेचेर मात्र आफ्नो परिवार पाल्न कठिन भएपछि राजेन्द्र यसैमा अडिन सकेनन् । परिवार पाल्नकै लागि विदेश हानिनुभयो तर विदेशमा कमाई चित्तबुझ्दो भएन ।

विदेशमा बस्दा उनले काठबाट विभिन्न किसिमका सामग्री बनाएको भिडियोहरु देखेपछि आफ्नो पुख्र्यौली पेसालाई परिमार्जन गरी व्यावसायिक रुपमा उत्पादन गर्न सकिएमा विदेशभन्दा घरमै राम्रो आम्दानी गर्न सकिने सोँच आयो । झण्डै १० वर्षको विदेश बसाईपछि उनले घरमै आएर दारका आधुनिक सामग्री बनाउने उद्योग स्थापना गरे ।

सुरुआती दिनमा दारबाट बनाएका सामान बेच्दै गर्जो टार्ने गरे पनि विस्तारै उनका सामग्रीको माग बढन थालेको छ । उनी भन्छन्, “अहिले यसरी घरघरमा पुगेर बेच्नुपर्ने अवस्था छैन । आफ्नो घरमै आएर किनेर लैजान्छन् ।” जिल्ला बाहिरसमेत दारको सामग्री चिनाउन सकेमा आफ्नो व्यवसायले ठूलै फड्को मार्ने विश्वास राजेन्द्रलाई छ । दोर्दीको वनमा पाइने दारलाई सदुपयोग गर्दै सामान बनाउने हो भने मासिक रु पाँच लाखसम्मको सामान उत्पादन गर्न सकिने उनी बताउँछन् ।

दारको काठबाट निर्माण भएका सामग्रीलाई उपहारको रुपमा दिने क्रम बढेसँगै उनलाई विभिन्न सामग्रीहरुको माग पूरा गर्न भ्याइनभ्याइ भएको हो । शुरुमा दोर्दी गाउँपालिकाले घरेलु सामग्री प्रबद्र्धनको लागि आफ्नै पालिकामा उत्पादन भएका सामग्रीलाई उपहार र मायाँको चिनोको रुपमा प्रयोग गर्न थालेपछि यहाँका दारबाट बनेका सामानहरु विस्तारै प्रख्यात हुन थालेका छन् । पालिकाको चिनारी समेत हुने भएपछि गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी आफू जहाँ पुग्यो, तिनै सामान उपहारको लागि लिएर जाने गर्छन् । केही समयअघि आफू चीन भ्रमणमा जादा समेत यिनै सामग्री लिएर गएको बताउँदै अध्यक्ष अधिकारीले भने, “त्यहाँ नेपाली उत्पादनलाई धेरैले निकै मन पराए ।”

गाउँपालिकामा पनि सबैजसो टेबलमा दारबाट बनेका सामग्री राखिएको छ । त्यहाँ पुग्ने जो कोहीले त्यसबारेमा सोधखोज गर्दछन् । एकाध व्यक्तिबाहेक सबैले खोज्दै आएर वा फोन सम्पर्क गरेर सामग्री मगाउने राजेन्द्र बताउँछन् । सामान खोज्दै ग्राहक आफ्नै दैलोमा आइपुग्दा राजेन्द्र हौसिने गर्छन् । दारको काठको बारेमा धेरैलाई जानकारी नहुदन भने व्यवसायमा समस्या रहेको बताउँदै उनी भन्छन्, “दारबाट सामान बनाउनको लागि मेहनत र लागत बढी पर्दछ, सोही अनुसार जिल्लाको बजार पुग्दैन, बाहिरी जिल्लामा लैजादा मानिसहरुले सामान चिन्न सक्दैनन्, अन्य काठबाट बनेका उस्तै सामान सस्तोमा पाइन्छ, तर सस्तोमा दिन सकिँदैन ।” रासस

You might also like

Comments are closed.