गुणस्तरीय शिक्षाका लागि नेपालमै सम्भावना छ : गोकर्णेश्वर नगर प्रमुख रिसाल

काठमाडौं । मुलुककै प्रतिष्ठित शैक्षिक केन्द्रको रुपमा स्थापित काठमाडौं बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले २०८० सालको एसइईमा उत्तीर्ण विद्यार्थीलाई एक समारोहका बीच सम्मान गरेको छ ।

समारोहलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपककुमार रिसालले मुलुकमै गुणस्तरीय शिक्षा लिन सक्ने प्रचुर सम्भावना हुँदाहुँदै उच्च शिक्षाका लागि विदेशिनु उचित नभएको धारणा राखेका छन् । सामुदायिक तथा संस्थागत दुबै विद्यालयको स्तरोन्नतिका लागि गोकर्णेश्वर नगरपालिका कटिबद्ध रहेको बताउँदै नगर प्रमुख रिसालले सबै विद्यालयले प्रविधिमा आधारित शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

नगर प्रमुख रिसालले शिक्षा क्षेत्रमा अरुणिमाको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै योगदानको अपेक्षा गरेका छन् । प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले समग्र मुलुकमा एसइईको नतिजा खस्किदा पनि अरुणिमाले उत्कृष्ट नतिजा ल्याएको बताए । कलेजका प्रमुख केशव जोशीले मध्यम शुल्कमा कलेजले सबै प्रमुख सङ्कायमा गुणस्तरीय शिक्षा प्रदान गरिररहेको जानकारी दिए । प्रतिष्ठान सञ्चालक समितिका सदस्य बटुप्रसाद न्यौपाने, अरुणिमा एल्मुनाई एशोसिएसनका अध्यक्ष जीतेन्द्र श्रेष्ठ लगायतले गुणस्तरीय शिक्षा लिन चाहने जो कोहीका लागि अरुणिमा उत्कृष्ट गन्तव्य भएको बताएका छन् ।

प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा अन्य अतिथिलाई प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले स्वागत गरेका हुन् । प्रतिष्ठान अन्तर्गत सञ्चालित अरुणिमा मा.वि. बौद्धका ११० जना, नव अरुणिमा मा.वि. आरुबारीका ३९ जना र अरुणिमा शिक्षा सदन मा.वि. महाङ्कालका ४३ जना विद्यार्थी गरी जम्मा १९२ जना विद्यार्थी सम्मानित भएका छन् । विद्यार्थीलाई खादा लगाई सम्मान गरिनुका साथै मायाको चिनो प्रदान गरिएको छ ।

परीक्षामा सम्मिलित भई उत्कृष्ट नतिजा हासिल गर्ने अरुणिमा मा.वि., बौद्धका प्रतीक तामाङ र अभिकुमार सुवेदी, नव अरुणिमा मा.वि. आरुबारीका दिव्यांशु रिसाल एवम् अरुणिमा शिक्षा सदन मा.वि., महाङ्कालका कृष्मा थापालाई नगद पुरस्कारसहित अभिनन्दन गरिएको छ । समारोहमा विद्यार्थीले आकर्षक नृत्य तथा गीत प्रस्तुत गरेका छन् । कलाकार सुबोध गौतमको हास्य प्रस्तुतिले समारोह थप रोचक बन्न पुगेको छ । समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा अतिथिहरू गरी ६ सयभन्दा बढीको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.