काठमाडौं । यस बर्षको न्युबिज बिजनेस वुमन समिट एन्ड अवार्डस् वितरण कार्यक्रम सम्पन्न भएको छ । देशभरिबाट छानिएका विभिन्न १२ जना उद्यमशील महिलालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
सो अवसरमा “महिलाको व्यावसायिक नेतृत्वलाई सवलीकरण” विषयमा विज्ञबीच प्यानेल छलफल भएको छ । न्यु बिजनेस एजले स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको सहयोगमा आयोजित सो कार्यक्रमको पहिलो भागका प्रमुख अतिथि नेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारी थिए ।
कार्यक्रमका अन्य प्रायोजकमा आइएमई लाइफ इन्स्योरेन्स, साल्ट ट्रेडिंग कर्पोरेशन, डोभ, सिटिजन लाइफ इन्स्योरेन्स, हिमालय एयरलाइन्स, कजरिया, एनएलजी इन्स्योरेन्स कम्पनी, ओमोडा ईभी, रिलायबल लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कृषि विकास बैंक रहेका थिए । जीवन बीमा पार्टनरको रूपमा आईएमई लाइफ, स्पेश फोर के टीभी पार्टनर थियो । काठमाडौंको द सोल्टी होटेलमा भएको कार्यक्रममा सार्वजनिक तथा नीजि क्षेत्रका ३ सय भन्दा बढी विभिन्न उच्चस्तरीय व्यक्तिका सहभागीता रहेको थियो । व्यावसायिक महिलामा केन्द्रित यस कार्यक्रम न्यु बिजनेस एजले सन् २०२१ देखि वार्षिक रुपमा गर्दै आएको छ ।
न्यु बिजनेस एजले सन् २०२१ देखि नै यस्ता उच्चस्तरीय व्यावसायिक इभेन्टहरु गर्दै आएको छ, जसमा कन्क्लेभ एन्ड कम्पनी अवार्डस्, स्टार्टअप समिट एन्ड अवार्डस् र विजनेस स्कूल रेटिंग र्यांकिंग एन्ड अवार्डस् वार्षिक रुपमा आयोजना भइरहेका छन् । यस बर्षको बिजनेस वुमन समिट एन्ड अवार्डस् कार्यक्रमको तयारीका रुपमा बुटवल र नेपालगञ्जमा विद्यमान तथा इच्छुक महिला उद्यमीलाई वित्तीय साक्षरता तथा उद्यशीलता तालिम कार्यक्रम गरिएको छ । जसमा २ सय भन्दा बढीको सहभागिता रहेको बताइएको छ ।
काठमाडौंमा सम्पन्न कार्यक्रम अन्तर्गत “महिलाको व्यावसायिक नेतृत्वलाई सवलीकरण गर्ने” विषयमा विज्ञबीच भएको प्यानेल छलफलमा राष्ट्रिय योजना आयोगको आर्थिक व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव महेश भट्टराई, टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठ, इम्पाक्ट हब काठमाडौंकी कार्यकारी निर्देशक पद्माक्षी राणाले व्यवसायिक नेतृत्वमा महिलाको हालको स्थिति र अब गर्नुपर्ने कामका बारेमा आफ्ना भनाई राखेका छन् । छलफलको सहजीकरण स्टार्टअप डिस्कभरी एशियाकी सह संस्थापक तथा कार्यक्रम प्रमुख समानता थापाले गरेकी हुन् ।
लाइफटाइम एचिभमेन्ट अवार्ड श्याम वदन श्रेष्ठलाई
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल प्रमुख अतिथि रहेको कार्यक्रमको दोस्रो भागमा विभिन्न महिला उद्यमीलाई सम्मान प्रदान गरिएको छ । नेपाल नटक्राफ्ट सेन्टरकी संस्थापक श्याम वदन श्रेष्ठलाई लाइफटाइम एचिभमेन्ट अवार्ड इन वुमन आन्त्रप्रेनरसिपबाट सम्मान गरिएको हो ।
किसान इन्नोभेशन हबकी संस्थापक मौसमी श्रेष्ठलाई बेष्ट वुमन आन्त्रप्रेनरको सम्मान दिइएको छ भने इनड्राइभकी निर्देशक रीता पोखरेललाई प्रोफेशनल वुमल अफ एक्सेलेन्सको सम्मान, एडुकेसकी सहसंस्थापक वेदिका मुरारकालाई पायोनियरिंग सोसल आन्त्रप्रेनरका रुपमा तथा फिनटेक कम्पनी एलोइकी सहसंस्थापक सोनिका मानन्धरलाई वुमन इन टेकका रुपमा सम्मान प्रदान गरिएको छ । सातै प्रदेशका एक/एक जना उत्कृष्ट महिला उद्यमीलाई पनि इमर्जिंग इन्टरप्राइजिंग वुमन अफ द इयरका रुपमा सम्मान तथा जनही नगद ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको बताइएको छ ।
सम्मानितमा ग्रीन माउन्टेन कृषि फर्म डडेलधुराकी सावित्री ओझा, श्रमजीवी मसला उद्योग सुर्खेतकी भूमिसरा टोमाटा, बाँके पोल्ट्रीफार्म बाँकेकी गीताकुमारी कोइरी मौर्य, कर्णाली गार्मेन्ट उद्योग कास्कीकी गीतानाथ, बेला कासा काठमाडौंकी सपना सापकोटा, सुनैना आर्टस् धनुषाकी सुनैना ठाकुर र चन्दन फाइबर उद्योग ताप्लेजुङकी माया गुरुङ रहेका छन् । सम्मान पाउने महिलाको छनौट विज्ञहरु सम्मिलित एक स्वतन्त्र निर्णायक मन्डलबाट भएको हो । निर्णायक मन्डलको अध्यक्षमा लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्त थिए भने सदस्यहरुमा डा. अजय धिमिरे, वासन्ती प्रधान तथा उर्मिला श्रेष्ठ रहेका हुन् ।






Comments are closed.