निजी क्षेत्र बिना भविष्यमा हुने ऊर्जाको माग पूर्ति गर्न सम्भव छैन : खड्का

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले संसदमा दर्ता भएको विद्युत विधेयक फिर्ता हुनुपर्ने बताएका छन् । विद्युत विकास विभागको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डाँगीले नवनियुक्त ऊर्जामन्त्री दीपक खड्का सामु विद्युत विधेयक २०८० लाई संसोधन नभई फिर्ता हुनुपर्ने र यसलाई पुनर्लेखन नै गर्नुपर्ने बताएका हुन् ।

विद्युत ऐन २०४९ लाई संसोधन गरेर विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्दा उक्त ऐन नै सर्वमान्य हुने डाँगीको भनाई छ । विद्युत ऐन २०४९ ले दिएको स्पेयर्स पारर्ट्समा १ प्रतिशत भन्सारको सुविधा बजेटले कटौती गर्दा गत वर्षको बाढीले क्षति पुगेका ३१ वटा जलविद्युत आयोजनाले भन्सार छुटमा सामान ल्याउन नपाएको प्रसंग निकाल्दै डाँगीले नवनियुक्त ऊर्जा मन्त्रीले यसमा सहजीकरण गर्नुपर्ने डाँगीले बताए ।

डाँगीले निजी क्षेत्रले बाढी पहिरो लगायतका काबु बाहिरका परिस्थिती सिर्जना भएकाले सबै जलविद्युत आयोजनाका लागि मागेको आरसीओडीको म्याद थप्ने माग सम्बोधन नभएकाले यसमा पनि मन्त्री खड्काले ध्यान दिनुपर्ने बताए । ऊर्जा मन्त्रालयले बनाउने विभिन्न समितिमा ३३ सय मेगावाट विद्युत उत्पादनमा ७० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रको प्रतिनिधित्व अनिवार्य गरेर निजी क्षेत्रका कुरा सुन्ने वातावरण बनाउनुपर्ने पनि डाँगीले बताए । उनले शेयर बजारमार्फत जलविद्युतमा लगानी गरेका ६० लाख लगानीकर्ताको हित हुने गरी ऊर्जा क्षेत्र सम्बद्ध सबै निकायले काम गर्नुपर्ने पनि बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त ऊर्जा मन्त्री दीपक खड्काले निजी क्षेत्रका मागहरु सम्बोधन गर्न ऊर्जा मन्त्रालयको तर्फबाट इमान्दार प्रयास गर्ने बताएका छन् । बाढीले आफ्नै निर्वाचन क्षेत्रमा २५ जनाभन्दा धेरैको ज्यान गएको, धेरै विद्युत आयोजनामा ठूलो क्षति भई प्रत्यक्ष रुपमा प्रभावित भएको सम्झना गर्दै खड्काले जलविद्युत प्रवद्र्धक र किसान मात्रै होइन, अन्य सामान्य व्यक्ति, व्यापारी लगायत पनि अप्रत्यक्ष रुपमा प्रभावित भएको बताए ।

‘नेपालको समृद्धिको आधार ऊर्जा क्षेत्र नै हो । अहिले नै यो क्षेत्रले वार्षिक ४/५ अर्ब रुपैयाँ राजस्वमा योगदान पु¥याइरहेको छ ।’ खड्काले भने, ‘आगामी दिनमा यसको योगदान कति प्रतिशत पु¥याउन सकिन्छ भन्ने वारेमा सोच विचार गर्नुपर्ने देखिन्छ ।’

१० हजार मेगावाट निर्यात गर्ने परिमाण पनि भविष्यमा थप बढ्दै जाने र आन्तरिक खपत पनि बढ्दै जाने भएकाले यो माग पूर्ति गर्न निजी क्षेत्रको साथ र सहयोग बिना सम्भव नभएको पनि खड्काले बताए । हाम्रो कानुनी बाध्यताका कारण भइरहेका ढिला सुस्तीहरु तिब्र गतिमा सुधार गर्ने भन्दै खड्काले सरकार र निजी क्षेत्र मिलेर नै यो मुलुक बनाउनुपर्ने बताए ।

You might also like

Comments are closed.

Secret Link