पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति बैदामको आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ । पोखरामा झण्डै साढे दुई दशकदेखि जारी यस कार्यक्रमले यहाँ धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्दै गएको छ ।
‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना हुने यो कार्यक्रम साउनका चार वटै सोमबार बगर शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गरिनेछ ।
शनिबार पत्रकार सम्मेलनमा विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका बोलबम संयोजक शंकर खरालले कार्यक्रमको आवश्यक तयारी पूरा भएको बताए । केदारेश्वर महादेवमणि सेवाश्रमका पिठाधीश डा. चिद्घन चैतन्यले पोखरा धार्मिक पर्यटनको प्रशस्त अवसर भएको सहर भएको बताए ।
प्रचार संयोजक दुर्गा अधिकारीले बोलबम पोखराको चिनारीसमेत भएकोले सञ्चार माध्यमबाट सहयोग गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रम सफल पार्न विभिन्न उपसमिति गठन गरिएको समिति सचिव ओमनाथ अधिकारीले बताए । बोलबम जलयात्रामा नौमती बाजा, भजनकीर्तन, झाँकी प्रस्तुत गरिनेछ ।
मध्याह्न षोडस उपचारसहित विशेष पूजा आराधनादेखि भजन कीर्तन गरिनेछ भने सन्ध्याकालिन समयमा विशेष पूजासहित महाआरतीसँगै शिवसाधना हुनेछ । राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान, विश्व हिन्दू महासंघ सांस्कृतिक समूह र विभिन्न भजन समूहद्वारा भजन प्रस्तुति गरिने आयोजकले जनाएको छ । बोलबम प्रचारका लागि शनिबार मोटरसाइकल ¥यालीसमेत गरिएको थियो ।






Comments are closed.