काठमाडौं । आ.व.२०८०/८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत ने.रु.५७ खर्बको कारोबार भएको छ । पछिल्लो आर्थिक वर्षको तुलनामा यस आ.व.मा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको कारोबारमा क्रमशः ४९ प्रतिशत र ३८ प्रतिशतले बृद्धि भएको हो ।
हाल सबै कारोबारहरु विद्युत्तीय माध्यमबाट हुने र धेरैजसो सानो रकमका कारोबारहरु रियल टाइममा नै हुने भएकाले सबैजसो कारोबारहरु रिटेल पेमेन्ट स्वीचमार्फत सिधै अथवा राउटिङ्ग र राफसाफको लागि प्रयोग हुने क्रम अत्यधिक बृद्धि हुँदै गएको छ । यसअन्तर्गत बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ, भुक्तानी सेवा प्रदायकका वालेट, क्यापिटल मार्केट, इन्स्युरेन्स, रेमिट्यान्स, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेटहरु तथा नेपाल सरकार समेतको सबै जस्तो कारोबारहरु प्रोसेस तथा क्लियरिङ्ग रिटेल पेमेन्ट स्वीचबाट हुने व्यव्स्था रहेको छ ।
सो निकायलाई रिटेल पेमेन्ट स्वीचमा नेशनल पेमेन्ट इन्टरफेसमार्फत इन्टिग्रेट गरिएको छ । फण्ड ट्रान्स्फर, कुनैपनि प्रकारको बिल पेमेन्ट, क्युआर भुक्तानी, नेपाल सरकारको विभिन्न कारोबारहरु जुनै च्यानलबाट गरिएपनि अन्तिममा रिटेल पेमेन्ट स्वीचबाट प्रोसेस हुने गरेको छ ।एनसीएचएलका सञ्चालनमा रहेका च्यानल प्ल्याट्फर्महरु जस्तै बैंक तथा वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्टआइपिएस, संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेट पे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारहरु समेत रिटेल पेमेन्ट स्वीचबाट नै प्रोसेसिङ्ग हुने गरेको छ ।
नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच लागू गर्न एनसीएचएललाई स्वीकृती दिए पश्चात सो परियोजनाको पहिलो पुर्वाधारको रूपमा एनसीएचएलले रिटेल पेमेन्ट स्वीच नेपालमा नै निर्माण गरी २०७८/७९ देखि सञ्चलान गर्दै आएको छ । रिटेल भुक्तानीका विभिन्न उपकरणहरु जस्तै बैंक–बैंक, बैंक–वालेट, वालेट–वालेट बीच ट्रान्स्फर, सरकारी कारोबार, सेवा बापतको भुक्तानी, मोबाइल नम्बरको आधारमा ट्रान्स्फर, क्युआर भुक्तानी, क्युआर नेटवर्क बीच अन्तर आबद्धता, ई–कमर्शको लागि पेमेन्ट गेटवे लगायतका भुक्तानी उपकरणहरु रिटेल पेमेन्ट स्वीचमा उपलब्ध रहेका छन् ।
सोही रिटेल पेमेन्ट स्वीचको माध्यमबाट क्रस बोर्डर भुक्तानीहरु समेत गर्न सकिने गरी NPIx प्रणालीको विकास भई केही देशहरुमा कारोबार सञ्चालनमा आउने चरणमा रहेको छ । रिटेल पेमेन्ट स्वीचमा हाल ५२ बैंक तथा वित्तीय संस्थाहरु, २२ भुक्तानी सेवा प्रदायकहरु, २ भुक्तानी प्रणाली सञ्चालकहरु, एक सय भन्दा बढि अन्य संस्थाहरु र नेपाल सरकार लगायतले आफ्ना सम्पूर्ण कारोबर गर्ने गरी जोडिएका छन् ।
नेपालभित्र हुने कार्डको कारोबारलाई समेत अन्तर आबद्धता कायम गर्न र नेपालको आफ्नै नेशनल कार्ड सञ्चालनमा ल्याउन NPS अन्तर्गत नेशनल कार्ड स्वीच र नेपाल पे कार्डको जडान कार्य समेत हुँदै गरेको छ ।






Comments are closed.