काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को एक टोलीले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट तथा छलफल गरेको छ । सिबिफिनका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री पौडेलसँग भेटघाट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समसामयिक विषयमा छलफल गरेको छ ।
सिबिफिनका अध्यक्ष पौडेलले लगानी र व्यवसायमैत्री नीति र वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक संकुचन आएको, वित्तीय संस्थाको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीय रुपमा वृद्धि भएको, पूँजीकोषमा दबाब परेको, बैंक तथा वित्तीय संस्थाका विरुद्ध अफवाह फैलाउने र कर्जा नर्तिनका लागि गरिएका दुरुत्साहनका कार्यहरु निरुत्साहित हुन नसकेको अर्थमन्त्री पौडेललाई जानकारी गराएका छन् ।
साथै उनले प्रस्तावित बाफियाका केही नीतिगत प्रावधानले बैंकिङ लगानीकर्तामा नैराश्यता पैदा गराएको र क्रमशः यस क्षेत्रबाट लगानीकर्ता, कर्मचारी समेत पलायन हुने क्रम बढेकोप्रति अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएका छन् । सिबिफिनका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पछिल्लो समयमा बैंकिङ क्षेत्रको वास्तविकतालाई नहेरी वा नबुझी अथाह कमाएको दुष्प्रचार गर्दै मुलुकको अर्थतन्त्रको आधारस्तम्भ मानिएको बैंकिङ क्षेत्रमाथि चौतर्फी प्रहार भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।
पूँजी निर्माण एवं परिचालन, लगानी विस्तार, रोजगारी, सामाजिक रुपान्तरण र राजस्वमा उल्लेख्य योगदान पु¥याउँदै आएको यस क्षेत्रले कमाउनै हुँदैन भन्ने निहित स्वार्थ समुहको सोच र सोही प्रकारका नीतिगत व्यवस्थाले आज बैंक तथा वित्तीय संस्थाको मुनाफा ऋणात्मक भएको कारणले लाखौँ लगानीकर्ताको जीवन गुजारामा मात्र असर नपुगी स्वयं सरकारको राजस्व लक्ष्यमा समेत गम्भीर असर परेको उनको भनाई छ ।सिबिफिनका कार्यकारी सदस्य लिलाप्रकाश सिटौलाले कर्जा र धितोको विषयमा वस्तुगत अध्ययन नै नगरी गैरकार्यकारी भूमिकामा रहने सञ्चालकलाई कागजी जानकारीका आधारमा हिरासतमा लिने प्रवृति बढ्दै जानुले समग्र बैंकिङ क्षेत्र नै भयवित बनेको उल्लेख गरे ।
अर्थमन्त्री पौडेलले सिबिफिन टोलीबाट प्राप्त शुभकामना र सृदृढ एवं आत्मनिर्भर अर्थतन्त्र, समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको अभियानमा जनाएको सहकार्यको प्रतिवद्धताप्रति धन्यवाद व्यक्त गरेका छन् । सुषुप्त अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र समग्र बैंकिङ क्षेत्रका समस्या एवं चुनौतीको समाधान र अपेक्षाको सम्बोधन लागि सरकारले आवश्यक पहलकदमी लिने जानकारी गराए । सुशासन, विकास र राजनीतिक स्थायित्व कायम गर्दै अर्थतन्त्र तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने र आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहन गर्ने सरकारको प्रमुख प्राथमिकता भएको धारणा राख्दै अर्थमन्त्री पौडेलले बैंकिङ क्षेत्रको विश्वास एवं छविमाथि हानि हुने र बैंकिङ गतिविधि सञ्चालनमा असर पु¥याउने कुनैपनि गतिविधि सरकारलाई क्षम्य नहुने बताएका छन् ।
अर्थतन्त्रको आधार स्तम्भका रुपमा रहेका बैंक तथा वित्तीय संस्थाको संरक्षण, स्थायित्व र दिगो विकासका लागि मौजुदा तथा प्रस्तावित बाफियाका प्रावधान सरोकारवाला सबैलाई मान्य हुने गरी सुधार गरिने अर्थमन्त्री पौडेल बताउँछन् । अर्थमन्त्रीको कार्यकक्ष, सिंहदरबारमा भएको भेटघाट तथा छलफलमा सिबिफिनका उपाध्यक्ष कुशप्रसाद मल्ली, सचिव भरतराज ढकाल, सहकोषाध्यक्ष हिरेन्द्रमान प्रधान, सदस्यहरु राधेश पन्त, मनोजकुमार गोयल, डा. चन्द्रबहादुर अधिकारी, महेन्द्रकुमार गोयल र महानिर्देशक रोशन कोइराला लगायत सहभागी थिए ।






Comments are closed.