सामाजिक सुरक्षा भत्ता लिन आउने ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिने

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको स्वास्थ्यको जाँच गरिने अध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको समेत परीक्षण गरिनेछ । डेंगु परीक्षणका लागि डा. कुशुम महराले सहयोग गर्ने बताइएको छ ।

“नागरिकको स्वास्थ्यमा हामी संवेदनशील छौं, सामाजिक सुरक्षा भत्ता लिन आउने ज्येष्ठ नागरिकको उपचारमा सहयोग मिलोस् भन्ने भावनाले वडाले नै निःशुल्क स्वास्थ्य जाँचको सुविधा उपलब्ध गराएको हो”उनले भने । वडाले उपलब्ध गराएको निःशुल्क स्वास्थ्य परीक्षणको लाभ लिन उनको अनुरोध छ । स्थानीय तहको दायित्व र कर्तव्य अन्तर्गत बेला–बेलामा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनले उल्लेख गरे ।

पोखरा महानगरपालिका वडा नं. १३ ले वडाको भौतिक विकास मात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्रभावकारी बनाउन लगानी गरिरहेको छ । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सम्बद्ध सँघसंस्थासँग मिलेर गतिविधि अगाडि बढाइरहेको छ ।

You might also like

Comments are closed.