परम्परागत हेरचाह कार्यलाई आय उत्पन्न गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्न आवश्यक

काठमाडौं । कैलाली चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले परम्परागत हेरचाह कार्यलाई आम्दानी गर्ने स्याहार अर्थतन्त्रमा परिणत गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा भएको निजी क्षेत्रमा केयर अर्थतन्त्रको सान्दर्भिकता विषयक ३ दिने तालिमको समापन समारोहमा बोल्दै ओझाले हेरचाह अर्थतन्त्रको महत्वबारे बताए । ओझाले हेरचाह अर्थतन्त्र, राज्यले अक्सर बेवास्ता गर्ने महत्त्वपूर्ण आर्थिक गतिविधिमा मुख्यतया महिलाहरू समावेश हुने जानकारी दिए ।

उनले परम्परागत हेरचाह कार्यलाई प्रविधिमा आधारित, आयआर्जन गर्ने केयर अर्थतन्त्रमा परिणत गर्न निजी र सार्वजनिक क्षेत्रले मिलेर काम गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय श्रम संगठनको ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं बीच भएको सम्झौतामा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशले तालिम आयोजना गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा लम्की चेम्बर अफ कमर्शका अध्यक्ष पदमराज चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको हो । आस्था भट्टले प्रमुख प्रशिक्षकको रुपमा तालिमको सहजिकरण गरेकी हुन् ।

सहभागी कृष्ण विष्ट महतले तालिमबाट प्राप्त ज्ञानलाई प्रयोगमा ल्याउन र हेरचाह अर्थतन्त्रको महत्वबारे सरोकारवालाबीच चेतना जगाउने प्रतिबद्धता व्यक्त गरिन् । तालिममा सुदूरपश्चिमका विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिसहित ३० जनाको सहभागिता रहेको थियो ।

 

You might also like

Comments are closed.

Secret Link