ढोरपाटन (बागलुङ) । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा १८ सय १५ धारा जडान गरेको छ । २ वर्षको अवधिमा उक्त संस्थाले ती धारा जडान गरेको हो ।
खानेपानीको अभाव झेलिरहेका ढोरपाटन नगरपालिका, निसीखोला, बडिगाड, तमानखोला गाउँपालिकाका साथै बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका बासिन्दालाई स्वच्छ पेयजलको व्यवस्था उक्त संस्थाले गरेको हो । नेवाले ग्रामीण भेग र सहरी क्षेत्रमा एक घर एक धारा जडानलाई तीव्र गतिमा अघि बढाएको छ । नेवाको सहयोगमा १९ हजार ११८ जनाले शुद्ध खानेपानी सुविधा पाएका छन् ।
आर्थिक वर्ष २०७९/०८० मा नेवाले जिल्लाको निसीखोला, तमानखोला, बडिगाड, ताराखोला, ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका जैमिनी नगरपालिकाको ३० स्थानमा आयोजना सञ्चालन गरेको थियो ।
३० वटा आयोजना सम्पन्न गर्न नेवाले रु ६ करोड २० लाख ५ हजार ७२५, पालिकाहरुको रु १ करोड ६४ लाख ९५ हजार ९१४, उपभोक्ताबाट रु ३४ लाख ८३ हजार ५१२ र रु २ करोड ५ लाख १२ हजार ३१२ बराबरको श्रमदान भएको थियो । रासस






Comments are closed.