पर्वतारोही पूर्णिमा श्रेष्ठ कुमुदिनीका विद्यार्थीलाई उत्प्रेरणा जगाउँदै

पोखरा । पोखराको गैह्रापाटनमा रहेको विद्यालय कुमुदिनी होम्समा कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई स्वागत गरिएको छ ।
एकै सिजनमा ३ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाएकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सफलताको अनुभव सुनाउन विद्यालयमा निम्त्याएको संस्थापक अध्यक्ष अशोक पालिखेले बताए ।

स्वागतपछि श्रेष्ठले विद्यालयका कक्षा १०, ११ र १२ का विद्यार्थीलाई उत्प्रेरणात्मक अनुभव सुनाईन् । गोरखाको आरुघाट निवासी श्रेष्ठले विद्यार्थीलाई एकाग्रता, निर्धक्क भएर रहनुका फाइदा तथा निरन्तरताका बारेमा जानकारी दिइन् । यी तीन कुरा धेरै महत्वपूर्ण छन् । कुनै क्षेत्रमा वा विद्यार्थीले अब्बल रिजल्ट ल्याउनका लागि एकाग्र हुन जरुरी रहेको उनले बताए । यस्तै सिकेका कुरालाई निर्धक्क भएर लेख्न र बोल्ने ठाउँमा बोल्न सक्नैपर्ने, अर्को कुरा सफलताका लागि लगातर निरन्तरता अति आवश्यक रहेको उनी बताउँछन् ।

उनले हिमाल आरोहणको क्रममा हुने दुःख, कष्ट र जोखिमलाई कसरी व्यवस्थापन गर्ने र सफलता हासिल गर्ने भन्ने बारेमा विद्यार्थीलाई उत्प्रेरणा जगाएकी थिइन् । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विश्व कीतिमान राख्ने पर्वतारोही श्रेष्ठलाई कुमुदिनीमा स्वागत गर्न पाउदा र उनले विद्यार्थीलाई दिएको उत्प्रेरणाको स्पिच निकै महत्वको भएको बताए ।

विद्यार्थीलाई पढाईको साथमा धेरै उत्प्रेरणाका कार्यक्रम बेला–बेलामा गर्दै आएको बताउँदै उनले समाजमा, देश विदेशमा ख्याती कमाएका कुनैपनि क्षेत्रका व्यक्तित्वका अनुभवहरु सुनाउने वातावरण तयार पारेको, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । पर्वतारोही फोटो पत्रकार पूर्णिमा श्रेष्ठले विसं २०७४ सालदेखि पर्वतारोहण सुरु गरेकी हुन् ।

उनले दुई पटक मनास्लु र अन्नपूर्ण, धौलागिरी, कञ्चनजंघा, ल्होत्से तथा मकालुको एक एक पटक आरोहण गरिसकेकी छन् । अन्नपूर्ण हिमाल र धौलागिरी आरोहण गर्ने उनी पहिलो नेपाली महिला हुन् । उनले मे १३ देखि २५ सम्म १३ दिनको अन्तरालमा ३ पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी हुन् ।

You might also like

Comments are closed.