कक्षा १२ को नतिजा प्रकाशन

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आजै बसेको बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यस वर्ष कक्षा १२ मा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताए । यस वर्षको नतिजामा गत वर्षको तुलनामा ३ प्रतिशत वृद्धि भएको उनले जानकारी दिए ।
बोर्डका अनुसार गत वैशाख १४ गतेदेखि सञ्चालन भई २६ गते सम्पन्न परीक्षामा नियमिततर्फ १ लाख ९३ हजार ९३३ छात्र र १ लाख ९६ हजार ९१४ छात्रागरी कूल ३ लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी थिए । त्यसमध्ये २ लाख ३ हजार ८४७ विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।  परीक्षामा ३ दशमलव ६१ देखि ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ९ हजार ५९१ रहेको छ । जसमा बागमती प्रदेशबाट ६ हजार ७५२ विद्यार्थी छन् । कर्णाली प्रदेशमा सबैभन्दा कम २४ जना विद्यार्थीले मात्रै उक्त जिपिए ल्याएका छन् ।
त्यसैगरी ४६ हजार ८९३ विद्यार्थीले ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म जिपिए र ७८ हजार ७५ विद्यार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २० सम्म जिपिए ल्याएका छन् । परीक्षामा १ लाख ८७ हजार २१ जना अनुत्तीर्ण अर्थात् ४७ दशमलव ०९ प्रतिशत विद्यार्थीको नतिजामा ननग्रेडिङ आएको छ । बोर्डका अनुसार ५ हजार ६३२ परीक्षार्थीले कुनै पनि विषयको परीक्षा दिएनन् भने १०२ विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।

 

ग्रेड वृद्धितर्फ विसं २०७८ र ०७९ का २८ दशमलव २६ प्रतिशत र विसं २०७६ र ०७७ का ६२ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । यसअघि विसं २०७८ को नतिजामा ४६ दशमलव ०४ प्रतिशत र विसं २०७९ को नतिजामा ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार सञ्चालन गरेकोे परीक्षाको नतिजाअनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याएमा विद्यार्थीको नतिजा एनजी अर्थात अनुत्तीर्ण आउँछ ।

 

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, ruselt.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np  मा लग इन गरी हेर्न सकिन्छ । त्यसैगरि एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइपगरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने जनाएको छ । रासस
You might also like

Comments are closed.