लेखनाथ (कास्की) । पर्यटकीय फेवातालमा डुङ्गा सञ्चालन गर्न पोखरा–२२ पुम्दीभुम्दीका ५५ वर्षीय वुद्धिबहादुर परियार दिनहुँ १ सय रुपैयाँ बसभाडा खर्चेर घरबाट फेवाताल आवतजावत गर्छन् । उनको आफ्नै डुङ्गा छैन, अरुकै डुङ्गा चलाउँछन् ।
फेवातालमा पर्यटकको सङ्ख्या घटेकै कारण ३ महिनायता उनको दैनिक आम्दानी १५० रुपैयाँ मात्र छ । वर्षादका कुनै दिन खाली हात घर फर्कनुपर्ने अवस्था छ । जेठ महिनादेखि फेवातालमा दैनिक मुस्किलले २० देखि ३० वटा डुङ्गा बाराही घाटबाट तालबाराही मन्दिर पुग्छन् भने २–३ वटा ताल घुम्न जाने व्यक्तिले लाने गर्छन् ।
“कुनै दिन घर पुग्ने बस भाडा साथीहरुसँग मागेर जानुपर्ने अवस्था छ”, परियारले भने, “फेवातालमा डुङ्गा चलाएको बीसौँ वर्षभयो, यस्तो अवस्था कुनै वर्ष पनि भएको थिएन, परियारले भने, “३ महिनादेखि खाजा खाने पैसा बचत छैन ।” फेवातालका विभिन्न ८ घाटमा ७६७ वटा डुङ्गा सञ्चालनमा रहेकामध्ये सबैभन्दा धेरै बाराही घाटमा ३५६ वटा डुङ्गा सञ्चालित छन् । अरुको डुङ्गा चलाएबापत चालकले १५० देखि १७० रुपैयाँ मात्र पाउने गर्छन् । ताल वाराही मन्दिरसम्म डुङ्गा पु¥याएर ल्याएको १५० रुपैयाँ मात्र चालकहरुले पाउने गर्छन् ।
दाङ जिल्लाबाट आई पोखराको फेवातालमा डुङ्गा चलाउँदै आएका कालीचरण चौधरीको पीडा पनि परियारकै जस्तै छ । ५ वर्षदेखि पोखराको लेकसाइटमा कोठा भाडामा लिएर श्रीमती र दुई छोराछोरी पाल्दै आएका चौधरीलाई दैनिक खर्च चलाउन मुस्किल परेको छ । फेवातालको किनारमै ढुङ्गा सञ्चालन गर्न पालो पर्खिरहेका चौधरीलाई बिहीबार दिउँसो श्रीमतीले मोबाइलमा फोन गरेर भन्छिन्, आज कति कमाई भयो । श्रीमान्, चौधरीले जवाफमा भन्दै थिए, आज तरकारी खाने पैसा पनि आम्दानी भएको छैन ।
“कोठाभाडासहित मासिक खर्च २५ हजार रुपैयाँ छ तर आन्दानी ३ हजार छ, पर्यटकको सिजनमा कमाएको पैसा र श्रीमतीले बिहानमा कमाएको पैसालै ३ महिनायता धानिएको छु, अब एक महिनापछि लाग्ने पर्यटन सिजनमा आन्दानी हुन्छ की भन्ने आशा छ”, चौधरीले भने, “छोराछोरीलाई पढाउन पनि मुस्किल भयो ।”
फेवा डुङ्गा व्यवसायी सङ्गठन बैदामका कार्यालय सचिव नरबहादुर श्रेष्ठले ३ महिना यता फेवातालमा आउने पर्यटकको सङ्ख्या ८० प्रतिशतले घटेकै कारण डुङ्गा व्यवसायमा यस्तो समस्या आएको जानकारी दिए । “त्यो २० प्रतिशत पनि आन्तरिक र भारतीय पर्यटक हुन्”, श्रेष्ठले भने, “वर्षाद्को समयमा पोखरा आउने सडक यातायातकोे जोखिम, बर्खा र आर्थिक मन्दीको असर पनि परेको हुनसक्छ ।”
डुङ्गा व्यवसायी सम्मर नेपालीले ३५६ वटा डुङ्गा रहेको बाराही घाटमा यतिबेला ५ दिनमा मात्र एउटा डुङ्गाको पालो आउने बताउँदै यस्तो अवस्थाले डुङ्गा चालक भोकभोकै हिँड्नुपर्ने बाध्यता रहेको दुःख सुनाए । लामो समय यही पेसामा रहेकाले पेसा परिवर्तन गर्न मन पनि नलाग्ने, आम्दानी पनि नहुने यस्तो अवस्था कहिलेसम्म रहने हो, सम्मर नेपालीको प्रश्न थियो । “कोरोनाले पोखराको पर्यटन व्यवसाय समस्या ल्याएको थियो त्योभन्दा बढी यतिबेला आर्थिक मन्दीले पारेको छ”, उनले भने, “स्थानीयवासीभन्दा पनि बाहिरबाट आएर डुङ्गा चलाउने चालकलाई दैनिकी चलाउने कठिन अवस्था छ ।”
चाडपर्वको आगमनसँगै पर्यटक पोखरा आउने र फेवातालमा पर्यटकको सङ्ख्या वृद्धि हुने आशामा डुङ्गा व्यवसायी छन् । फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले सडक यातायातको जोखिमता, बर्खा, आर्थिक मन्दीजस्ता कारणले व्यवसायमा समस्या आएको बताए । फेवातालको मध्यभागमा अवस्थित तालबाराही मन्दिरमा पर्यटक पु¥याएबापत प्रतिव्यक्ति १ सय रुपैयाँ र ताल घुमाएबापत १ घण्टाको ९ सय रुपैयाँ व्यवसायीले लिने गरेका छन् ।
फेवातालका बाराही, फिस्टेल, अम्बोट, गौरी, पहारी, स्वीमिङपुल, फेवा र बङ्लादी गरी ८ घाटमा ७६७ वटा डुङ्गा सञ्चालन हुने गरेका छन् । ती घाटमा ४१० जना चालक रहेको र तीमध्ये २५ जना महिला रहेको जानकारी अध्यक्ष गिरीले दिए । फेवातालमा सयौँवर्षदेखि डुङ्गा सञ्चालन हुने गरेको भए पनि संस्थागत र व्यावसायिक रुपमा विसं २०५२ देखि सञ्चालन हुँदै आएको अध्यक्ष गिरीले बताएका छन् । रासस
Comments are closed.