पोखरामा विद्यालयस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु

पोखरा । पोखरामा २० औ इन्द्रबहादुर गुरुङ मेमोरियल विद्यालय स्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला ब्याटमिन्टन संघको आयोजनामा शुक्रबार देखि पोखराको रंगशाला ब्याटमिन्टन हलमा प्रतियोगिता सुरु भएको हो ।

‘स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ २ दिन सम्म आयोजना भएको प्रतियोगितामा कास्की जिल्लाका विभिन्न ४० वटा विद्यालयका १९५ विद्यार्थीले सहभागिता जनाएका छन् ।

खेलको विकास तथा विस्तार गर्ने, स्कुलका विद्यार्थीमा ब्याटमिन्टन खेलप्रति रुचि जगाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितमा प्रतिस्पर्धा गर्ने उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको कास्की जिल्ला ब्याटमिन्टन संघका उपाध्यक्ष एंव प्रतियोगिता संयोजक विशाल खड्काले जानकारी दिए ।

कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीको सहभागितामा छात्रा तथा छात्र गरी २ विधामा ९ प्रकारका प्रतिस्पर्धा हुदैछ । खड्काका अनुसार प्रतियोगितामा कक्षा १–५ सम्मका छात्र–छात्रा सिङ्गल, कक्षा ६– ८ सम्मका छात्र–छात्रा सिङ्गल, कक्षा ९–१० सम्मका छात्र–छात्रा सिङ्गल, कक्षा ११–१२ का छात्र–छात्रा सिङ्गल तथा कक्षा ११–१२ का छात्र डबल्स गरी ९ वटा विधामा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रमुख अतिथि प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले प्रतिायोगिताको उद्घाटन गरेका हुन् । उनले विद्यालयस्तरिय प्रतियोगिताले विद्यार्थीको बीचमा भाइचाराको विकास हुनुका साथै स्तरीय खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनले ‘विद्यालयस्तरबाट सञ्चालन हुने प्रतियोगिताले नै उत्कृष्ट खेलाडी उत्पादन गर्ने थलो भएको बताए । खेल क्षेत्रको विकास र विस्तारमा इन्द्रबहादुर गुरुङको योगदानको स्मरण गर्दै प्रतियोगितालाई निरन्तर रुपमा सञ्चालनका लागि आगामी दिनमा साथ र सहयोग रहने प्रतिबद्धता समेत गरे ।

कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले प्रतियोगिताले विद्यार्थीलाई आफ्ना प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त हुने बताए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई ट्रफि, मेडल, प्रमाणपत्र र प्रोत्सहान पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । शुक्रबार प्रिक्वाटर सम्मका खेलहरु सम्पन्न हुने प्राविधिक टोलीका ज्ञानेन्द्र भण्डारीले जानकारी दिएका छन् ।

कास्की जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्धघाटन सत्रमा स्व.इन्द्रबहादुर गुरुङका श्रीमति जगदेश्वरी, छोरी कञ्चन गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विशाल खड्का र कार्यक्रम सञ्चालन सचिव फणिन्द्र तिमिल्सनाले गरेका हुन् ।

You might also like

Comments are closed.