लायन्स डिष्ट्रिक्ट ३२५ जे : पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुँदै

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नेपालमै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने भएको छ । यो रोमाञ्चक प्रतियोगिता आगामी असोज ४ र ५ गते पोखरा रंगशालामा सम्पन्न हुनेछ ।

प्रतियोगितामा नेपालका १६ जना राष्ट्रिय स्तरका बाइक रेसिङ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाका अनुसार यो प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको हो । सामाजिक सेवामा लामो समयदेखि सक्रिय लायन्स क्लबले युवा सशक्तिकरण र मोटर स्पोर्टस् जस्ता साहसिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो ।

यसले राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि अघि बढ्न सहयोग पु¥याउने विश्वास छ । प्रतियोगिताको सम्पूर्ण प्राविधिक व्यवस्थापन मोटर स्पोर्टस् नेपाल क्लबले गर्नेछ । प्रतियोगिताका लागि असोज ४ गते प्राक्टिस राउन्ड आयोजना हुनेछ भने असोज ५ गते मुख्य प्रतियोगिता हुनेछ । लायन्स डिष्ट्रिक्ट ३२५ जे का स्पोर्टस् चिफ लायन अनिल कुमार बरालका अनुसार यस प्रतियोगिताले नेपाली मोटर स्पोर्ट्सलाई नयाँ उचाईमा पु¥याउने अपेक्षा छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई कप र नगद पुरस्कार प्रदान गरिनेछ । साथै प्रतियोगितामा सहभागी सबै खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने चिफ पिआरओ लायन रामराजा थापाले जानकारी दिए । प्रतियोगिताको संयोजनमा लायन्स क्लब अफ काठमाडौं युनाईटेड स्टार्स र लायन्स क्लब अफ पोखराले प्रमुख भूमिका निर्वाह गरिरहेका छन् ।

खेलकुद मन्त्रालयसँगको सहकार्यमा गरिएको यस प्रतियोगितामा ४ उत्कृष्ट खेलाडीले अन्तर्राष्ट्रियमा हुने विश्व च्याम्पियनसिपमा समेत सहभागिता जनाउन मौका पाउनेछन् । यसले राष्ट्रिय खेलाडीको प्रतिभा प्रदर्शन गर्न र उनीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ ।

यस प्रतियोगिता नेपालमा मोटर स्पोर्ट्सको विकास र प्रवर्द्धनका लागि एक ऐतिहासिक कदम हुने र नेपाल पनि अब यो प्रतियोगिता पश्चात् अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम हुने लायन्स क्लबका डिष्ट्रिक्ट स्पोर्टस्को चिफ लायन शिव श्रेष्ठले बताएका छन् ।

यस खेल गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेल्कुद मन्त्रालय अन्तर्गतका गण्डकी प्रदेश खेलकुद परिसदसंग अनुबन्धित भै सञ्चालित रहेको छ । पछिल्लो समय युवापुस्ता माझ निकै लोकप्रिय हुँदै गएको यस प्रकारका रेस खेलले नेपालको दीर्घकालीन पर्यटनलाई टेवा दिने जानकारहरु बताउँछन् ।

लायन्स सधै निस्वार्थ समाज सेवामा समर्पित संस्था हो । यस कार्यक्रमका सन्दर्भमा विस्तृतमा असोज ३ गते होटेल लेक पराडाइजमा जानकारी दिने आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.