१० औं विश्व विद्यालय दूध दिवस सप्ताहव्यापी मनाइदै

काठमाडौं । नेपाल डेरी एसोसिएसनले १० औं विश्व विद्यालय दूध दिवस साताव्यापी रुपमा सुरु गरेको छ । विविध कार्यक्रमको साथमा सरोकारवालाको सहकार्यमा विहिवारबाट कार्यक्रम सुरु गरेको एसोसिएसनले जनाएको छ ।

राष्ट्रिय दूग्ध विकास बोर्ड, पशु सेवा विभाग, दूग्ध विकास संस्थान (डिडिसी), केन्द्रिय दूग्ध सहकारी संघ, डेरी साईन्स एसोसिएसन, केन्द्रिय पशुपंक्षी तथा मत्स्य सहकारी संघ, डेरी उद्योग संघ, विभिन्न संघ संस्थासँगको सहकार्यमा १०औं विश्व विद्यालय दूध दिवसलाई साताव्यापी रुपमा मनाउन सुरु गरिएको छ । विहिवार (असोज ३ गते) बाट सुरु भएको कार्यक्रम असोज ९ गते मुल समारोह कार्यक्रम गरी समापन गरिने नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाले जानकारी दिए ।

“आज विश्वमा हरेक कुरामा ती देशहरु अग्रपंक्तिमा रहेका छन्, विश्वमा कुनै पनि बालबालिकाले दूध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दूध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन संसारभर कतै पनि विद्यालयमा बिदा नपर्ने भएकाले विगत २४ वर्षदेखि विश्वभर सन् २००० देखि भव्यताका साथ मनाउने गरिएको तथ्यांक छ” अध्यक्ष दाहालले भने ।

यस वर्ष विश्वमा २४औं र नेपालमा १० औं विश्व स्कुल दूध दिवस ‘नियमित दूध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन’ भन्ने नाराका सुरु भएको छ । एसोसिएसनले सरोकारवाला सबै र आफ्ना मातहतका पालिका, जिल्ला र प्रदेशलाई १० औं विश्व स्कुल दूध दिवस मनाउन आह्वान समेत गरेको अध्यक्ष दाहालले बताए ।

विश्वमा सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन मनाइने विश्व स्कुल दूध दिवस विगत १० वर्षदेखि नेपाल डेरी एसोसिएसनले मनाउँदै आइरहेको छ । यसवर्ष पनि एसोसिएशनले आउँदो असोज ९ गते अर्थात् सेप्टेम्बर २५ तारिकका दिन पर्ने विश्व स्कुल दूध दिवसको अवसरमा सरोकारवालाको उपस्थितिमा १० औं विश्व स्कुल दूध दिवस केन्द्रिय स्तर, प्रदेश, जिल्ला र पालिकामा आयोजना गरिएको एसोसिएसनका महासचिव हेमचन्द्र खनालले बताए ।

दशौं विश्व स्कुल दूध दिवसको अवसरमा पहिलो दिन प्रेस विज्ञप्ती जारी गरी मिडियामार्फत कार्यक्रमका बारेमा जानकारी दिने, दोश्रो दिन दूध तथा दुग्ध पदार्थको उपभोगका लागि जनचेतनामुलक सन्देश प्रवाह गर्दै विद्यालयमा दूधपान गराउने, तेश्रो दिन विभिन्न आश्रममा रहेका बालबालिकालाई दूध तथा दुग्ध पदार्थ वितरण, चौथो दिन ७ वटा प्रदेशमा विश्व स्कुल दूध दिवसको जानकारी गराउन सरोकारवालाको भेला गर्ने कार्यक्रम रहेको महासचिव खनाल बताउँछन् ।

उनका अनुसार साथै पाँचौ दिन कुनै एक स्कुलमा चेतनामुलक कार्यक्रम गर्दै दूध तथा दुग्ध पदार्थको बारेमा जानकारी दिने, छैठौं दिन पुनः प्रेस विज्ञप्ती वा पत्रकार सम्मेलन गरी साताव्यापी गरिएका कार्यक्रमको जानकारी दिदै औपचारिक कार्यक्रमको बारेमा बिस्तृत विवरणसहित मिडियामा प्रचार–प्रसार गरिने, सातौं अथवा अन्तिम दिन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजे्न्द्रप्रसाद मिश्रको प्रमूख आतिथ्यतामा औपचारिक कार्यक्रम गरी समापन गरिने कार्यक्रम गरिनेछ ।

दूधलाई पूर्ण आहारका रुपमा लिइन्छ । मानिस जन्मने बेलाको प्रथम आहार नै दूध हो । जन्मेको ६ महिनासम्म मानिसलाई दूध मात्र दिइन्छ र दूध मानिसको जीवनको महत्वपूर्ण खाद्य पदार्थ अन्तर्गत पर्दछ । जन्मेको दिनदेखि मृत्युपर्यन्तसम्म पनि हाम्रो संस्कारको लागि दूधको सधैं आवश्यकता पर्दछ । विश्व इतिहास हेर्दा पनि जो व्यक्ति विश्व प्रख्यात भए ती अधिकांश व्यक्तिहरु शाकाहारी भएको र विशेषगरी दूधसेवनलाई महत्व दिनेको पुष्टि भइसकेको छ ।

गौतम बुद्धदेखि महात्मा गान्धि र वर्तमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदिसम्म सबैले दूधलाई प्राथमिकताका साथ लिइने गरेको पाइन्छ । यस अर्थमा पनि के पुष्टि हुन्छ भने दूध सेवन गर्दा मानिसको दिमागमा सकारात्मक सोँचको विकास हुने र दिमाग तेजिलो हुने कुरा वैज्ञानिकले पुष्टि गरिसकेका छन् । जापान, कोरिया र चीन जस्ता विकसित देशमा बालबालिकालाई दूध सेवन अनिवार्य गरिएको देखिन्छ । त्यसैकारण त्यहाँका बालबालिकाको दिमाग तेज छ ।

हाम्रो देशको तथ्यांक अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८५ लिटर मात्र सेवन हुने गरेकोले अब आगामी दिनमा कम्तिमा बालबालिकाको लागि मात्र भएपनि ९२ लिटर अनिवार्य पु¥याउनुपर्ने देखिएकोले सरोकारवाला यसमा लाग्नुपर्ने देखिन्छ । बालबालिकालाई दूधको महत्वबारे बताउँदै अनिवार्य दूध सेवन गर्न प्रेरित गर्नुपर्छ । अभिभावकले र विशेषगरी शिक्षकले पनि राम्रोसँग बुझेर सबै बालबालिकालाई दूध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्नेछ ।

विद्यार्थीलाई दैनिक रुपमा दूध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाइदा सम्बन्धी बालबालिकालाई जानकारी गराउन शिक्षकको महत्वपस्र्ण भूमिका रहन्छ । साथै विद्यालयले पनि दूध सेवनमा प्राथमिकता दिन अभिभावकलाई दूधको जानकारी सहित उपभोग गराउन आग्रह गर्नुपर्छ । एसोसिएसनले समय–समयमा विभिन्न विद्यालयमा पुगेर दूध तथा दुग्धपान गराउने र विविध कार्यक्रम गरिरहेको छ । साथै कविता र वक्तृत्वकला प्रतियोगिता गरी बालबालिकामा दूध तथा दुग्ध पदार्थको जानकारी गराउने गरिएको छ ।

नेपाल डेरी एसोसिएसनले शुरु गरेको विश्व विद्यालय दूध दिवसको उपलक्ष्यमा आयोजना गरिएका पछिल्ला कार्यक्रम निम्नानुसार उल्लेख गरिएको :

१. नेपालमा विश्व स्कुल दुध दिवस मनाउन शुरु गरी पहिलो कार्यक्रमको आयोजना पाँचखालको गणेश माविमा २०७२ सालमा बालबालिकालाई दुधपान ।

२. दोश्रो विश्व विद्यालय दूध दिवस २०७३ मा एसोसिएसनको अगुवाइमा सरोकारवाला सबैलाई सहभागी गराई काठमाडौंको हाँडीगाउँमा रहेको सेन्ट जर्ज विद्यालयमा विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ सेवन गराई जनचेतना मुलक कार्यक्रम ।

३. तेश्रो विश्व स्कुल दूध दिवस २०७४ सालमा नेपाल डेरी एसोसिएसन, दुग्ध विकास संस्थान र केन्द्रिय पशुपंक्षी तथा मत्स्य सहकारी संघको संयुक्त आयोजनामा काठमाडौंको स्वयम्भुस्थित त्रिपल जेम्स स्कुलमा तत्कालिन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका राज्यमन्त्री रामकुमारी चौधरी (रोजिना) को प्रमूख आतिथ्यतामा दूधको महत्व सम्बन्धी कार्यक्रम ।

४. चौथो विश्व स्कुल दूध दिवस २०७५ मा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ८ स्थित महाकाल जनजागृती मावि गल्फुटार, रामेछापको नागकन्या मावि. मन्थली, झापाको कन्काई सामुदायिक विद्यालय, सल्यानको बागमती नगरपालिका २ स्थित त्रिवेणी आधारभुत विद्यालय, धनगढीको शिवपार्वती आधारभुत विद्यालयमा जनचेतनामूलक कार्यक्रम ।

५. पाँचौं विश्व स्कुल दूध दिवस २०७६ मा काठमाडौंको कृष्ण माविका विद्यार्थीमाझ दूधको महत्व बुझाउँदै दूध तथा दुग्ध पदार्थ वितरण ।

६. छैठौं विश्व स्कुल दूध दिवस २०७७ मा जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा रहेका अनाथ असहाय बालबालिकालाई दूध तथा दुग्ध पदार्थ वितरण ।

७ . सातौं विश्व स्कुल दूध दिवस २०७८ मा काठमाडौंको हाँडीगाँउस्थित टंगाल माविमा वक्तृत्वकला प्रतियोगिता, विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ सेवन ।

८. आठौं विश्व स्कुल दूध दिवस २०७९ मा कमलपोखरीस्थित कमल आधारभुत विद्यालयका विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ वितरण ।

९. एसोसिएसनले २०८० मा काठमाडौंको त्रिरत्न स्कुल स्वयम्भुमा ९ औं विश्व स्कुल दूध कार्यक्रम, साथै काठमाडौंको शंखमुलस्थित दृश्य बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा सहकारीको साधारणसभामा उपस्थित बालबालिकालाई दूध सेवन ।

You might also like

Comments are closed.