साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालय कालिमाटी र जडिबुटीमा जुत्ता, चप्पलको बिक्री कक्ष

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय कालिमाटी काठमाडौं र जडिबुटी भक्तपुरमा राखिएको जुत्ता चप्पल बिक्री कक्षमा ग्राहकको आकर्षण बढ्दै गएको छ ।

दसैं, तिहार, छठ लगायतका पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङको कार्यालयमा स्वदेशी ४ वटा कम्पनीहरुले जुत्ता चप्पलको बिक्री कक्ष राखेका छन् । साल्ट ट्रेडिङले राखेको सुपथ मूल्य पसलसँगै सञ्चालनमा आएको बिक्री कक्षबाट ग्राहकले सुपथ मूल्यमा जुत्ता चप्पल खरिदको अवसर प्राप्त गरेका छन् ।

रन सुज, सु ल्याण्ड, बिएफ डियर हिल र स्मार्ट सुजले बिक्री कक्षमा स्टलहरु राखेका छन् । कम्पनीमा उत्पादन भएका नयाँ–नयाँ मोडलका जुत्ता चप्पल ग्राहकले खरिद गर्न सक्ने सु ल्याण्डका सञ्चालक सुरज बञ्जाडेले जानकारी दिए । थोरै पैसा तिरेर राम्रो, टिकाउ हुने खालका जुत्ता, चप्पल ग्राहकले रोजेर लैजान सक्ने उनले बताए ।

यो चाडपर्वमा दुई ठाउँमा बिक्री कक्ष राखिएकोमा आगामी दिनमा साल्ट ट्रेडिङसहित सरकारका अन्य सुपथ मूल्य पसल सञ्चालन गर्ने निकायसँग सहकार्य गरेर देशैभर पसल सञ्चालन गरिने आयोजकले जनाएको छ ।

नेपाली उत्पादनलाई सर्वसुलभ बनाउन पनि यस्ता बिक्री कक्षको योगदान रहने रन सुजका सञ्चालक तथा नेपाल जुत्ता उत्पादक संघका अध्यक्ष रुद्रनाथ न्यौपाने बताउँछन् । ‘नेपाली उत्पादनलाई देशव्यापी बनाएर सबैको सहज पहुँच बनाउन संघले पहल गरिरहेको छ,’ उनले भने ।

सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध गराउने गरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा कालीमाटी र जडिबुटीमा बिक्री कक्ष सञ्चालनमा ल्याउँदा आम उपभोक्ता तथा ग्राहक लाभान्वित हुने उनले विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.