पर्यटकीय स्थलबाट १ करोड बढी आम्दानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१/८२ मा रु. १ करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ ।

अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शूल्क संकलन, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ ।

अन्नपूूर्ण –२ मा रहेको भुरुङ्ग–तातोपानी, वडा नम्बर ५ को पाउद्धार तातोपानी र वडा नम्बर ६ को रातोपानी कुण्डमा प्रवेश शूल्क, होटल तथा चिया पसल सञ्चालनका लागि विभिन्न होटलहरुले प्रतिष्पर्धा मार्फत क्रमश रु. ५६ लाख २५ हजार ३७७, रु. २८ लाख ७६ हजार ५०५ र रु. २ लाख ६१ हजार ५५५ मा आर्थिक वर्षको शुरुमै ठेक्का सम्झौता भएको थियो ।

अन्नपूूर्ण –६ स्थित पुनहिलमा प्रवेश शूल्क र चिया पसल सञ्चालनका लागि रु. ४० लाख १ सयमा असोज अन्तिम हप्ता सम्झौता भएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । अग्रिम रूपमा रकम जम्मा गरेका कारण कार्यविधिअनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको उनी बताउँछन् ।

“तीन तातोपानी कुण्डमा पहिलो सूचनामै ठेक्का परेको थियो,” उनले भने, “रु. ५५ लाख न्युनतम आय अनुमान गरिएको पुनहिलमा ३ पटक सम्म सूचना प्रकाशन गर्दा समेत कसैको ठेक्का नपरेपछि आर्थिक वर्ष शुरु भएको ३ महिनापछि रु. ४० लाख १ सयमा सम्झौता गरिएको हो ।”

पुनहिल र भुरुङ्ग–तातोपानीको होटल हटस्पिरिङ, पाउद्धार तातोपानी कुण्ड कालीगण्डकी रुफटफ प्रा.ली. र रातोपानी कुण्ड होटल एभरेष्ट पोखरेबगरले ठेक्का लिएका हुन् । गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिकरूपमा व्यवसाय करवापत हरेकलाई रु ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेवापत रु ३६ हजार वाहलबटौली कर लिने गरेको छ ।

चालु आर्थिक वर्षमा रु. १ करोड ७२ लाख ५० हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले पर्यटन क्षेत्रलाई मुख्य आयस्रोत बनाएको र पहिलो चौमासिकमै लक्ष्य नजिक पुगेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए ।

मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफीसफबाट समेत व्यवसाय कर सङ्कलन गर्दै आएको छ ।  घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल रहेको छ ।

अन्नपूूर्ण आधार शिविर र त्यहाँ जाने मौरिस हर्गोज पदमार्गमा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु. १ करोड बजेट बिनियोजन गरेको अध्यक्ष पुनले बताएका छन् । पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्र्द्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको उनको भनाइ छ ।

You might also like

Comments are closed.