तनहुँ, ५ कात्तिकः गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन रु ६० लाख ४० हजार अनुदान वितरण गरेको छ ।
कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका ६०४ वटा पाडीबाछी हुर्काउन रु १० हजारका दरले उक्त अनुदान रकम प्रदान गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा ३३१ आवेदन परेकामध्ये छनोटमा परेका ३२७ किसानले अनुदान पाएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।
विगत ३ वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएपछि कार्यक्रम प्रभावकारी बन्दै गएको केन्द्र प्रमुख डा राजेशकुमार चौधरीले जानकारी दिए । पहिलो वर्ष १ सय, दोस्रो वर्ष २ सय र तेस्रो वर्ष ६ सय चारवटा पाडी–बाछीका लागि बजेट विनियोजन गरिएको थियो ।
गत वर्षको तुलनामा यस आवमा तीन सयवटा पाडीबाछी हुर्काउनका लागि बजेट विनियोजन भएको छ, चौधरीले भने “बजेट घटेर आएका कारण यस वर्ष पाडीबाछी हुर्काउने सङ्ख्यामा कमी आएको छ ।” पाडी–बाछी हुर्काउन अनुदान पाउन यस वर्ष आवेदन खोलिसकेको र किसानबाट आवेदन आउने क्रम जारी छ । यस वर्ष रु ३० लाख बजेट विनियोजन भएको सो केन्द्रले जनाएको छ ।
जिल्लाका १० वटा पालिकामध्ये सबैभन्दा धेरै बन्दीपुरमा २२१, व्यास नगरपालिकामा २०८, आँबुखैरेनीमा ८४, भानुमा ४५, म्याग्देमा २५, देवघाटमा १२, शुक्लागण्डकीमा ८ र ऋषिङमा एकवटा छनोटमा परेको थियो । आवेदनका आधारमा किसानका गोठमा पुगेर स्थलगत अनुगमन गरी अनुदान दिइएको उनले बताए । एकजना पशुपालक किसानले बढीमा ५ वटासम्म पाडीबाछीका लागि अनुदान पाउनेछन् ।
अनुदान पाउन पाडीबाछीको उमेर एक वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड रहेको केन्द्रले जनाएको छ । बाह्य जिल्लाबाट ल्याइएका पशुका तुलनामा जिल्लाभित्रै हुर्किएका पाडीबाछीमा कम रोग लाग्ने भएकाले पशु आयात न्यूनीकरण गर्न अनुदान दिइएको केन्द्रका प्रमुख चौधरीको भनाई छ ।
Comments are closed.