समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा शुरु

काठमाडौं । समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको छ ।

नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसंगको सहकार्यमा सो सम्मेलनको २०औं संस्करण आयोजना गरिएको हो ।

कात्तिक ९ गतेसम्म हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरु तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुनेछ । यसैगरी जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरु हटाउने सम्बन्धी रणनीतिहरु लगायतका विषयमा सहभागीबीच छलफल केन्द्रित हुनेछ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रका लागि कार्यक्रम महत्त्वपूर्ण उपलब्धि रहने बताए । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले कार्यक्रममा ४४ देशका ५ सय भन्दा बढीको सहभागिता रहने बताइन् । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले बीमा क्षेत्रका विज्ञहरूको उपस्थितिमा हुने कार्यक्रममा विभित्र कार्यपत्र प्रस्तुत भइ छलफल हुने जानकारी दिए ।

सम्मेलनका विभिन्न सत्रहरुमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरु, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवम् अवलम्बन जस्ता मुख्य विषयमा विभिन्न कार्यपत्र प्रस्तुतीका साथै कार्यपत्रमाथि छलफल हुने कार्यक्रम रहेको छ ।

सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदार गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरु गरी ४ सय भन्दा बढीको सहभागिता रहेको छ ।

समाजमा आर्थिक रुपमा पछाडि परेका वर्ग र लघु, साना तथा मझौला उद्योगको वित्तीय जोखिम न्युनीकरणका लागि समावेशी बीमालाई अगाडि बढाउने सम्वन्धमा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

 

You might also like

Comments are closed.