मह उत्पादन गरेर मनग्य कमाउँदै घोराहीका घर्ती

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन् । लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक रूपमा मौरीपालन थालेको १६ वर्ष पूरा भयो ।

हाल उनको फार्ममा एक सय ५० मौरीसहितका घार छन् । उनले वर्षमा ७ टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन् । मौरीपालन गर्न सिकेपछि व्यावसायिक रूपमा लागेका उनको घरबाटै मह बिक्री हुने गरेको छ । वार्षिक रु १६ लाखको कारोबार गरिरहेका पौरखी घर्तीले रु ७ लाख बचत हुने बताए । १ किलो मह रु ५ सयमा बिक्री गर्दै आएको उनले सुनाए ।

वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरीपालनबाट प्रशस्त प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताएका छन् । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको उनी बताउँछन् । मौरीपालन व्यावसायिक रूपमा सुरु गरेदेखि अहिलेसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको अनुभव छ ।

बुढ्यौलीमा अन्य पेसा गर्न नसिकरहेको अवस्थामा मौरीपालन व्यवसाय निकै सहज भएको उनले बताए । यस व्यवसायमा अलि बढी अध्ययनशील हुन आवश्यक रहेको छ, चरनका लागि घोराही उपमहानरपालिकाको माथिल्लो भेगतिर लैजाने गरेको उनले बताए ।

 

You might also like

Comments are closed.