स्नातकोत्तर अध्ययन गरेका रामपुरका भुवन अर्याल कुखुरापालनमा रमाउँदै

सुशीला रेग्मी
रामपुर (पाल्पा) । राम्रो शैक्षिक योग्यता हासिल गरेर गाउँमा बसेर कृषि, पशुपालन गर्ने युवा भने अति कम पाइन्छ । पढाई सकेपछि जागिरको दौडानमा विभिन्न ठाउँमा युवा रोजीरोटीमै भौतारिन्छन् । पाल्पा रामपुर नगरपालिका ८ आपँचौरका युवा भुवन अर्याल यतिबेला गाउँमै व्यवसाय गरेर समाजमा उदाहरणिय बनेका छन् ।

उनले व्यवस्थापन सङ्कायमा काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातकोत्तर अध्ययन गरेका छन् । पढाई सकिएपछि गाउँ फर्केर कुखुरापालन व्यवसाय सञ्चालन गरिरहेका छन् । उनको यस व्यवसाय पाल्पामै नमुना खालको छ । रामपुर ८ खैरेनीमा राम्रो धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्मको नाममा व्यवसाय दर्ता गरी चलाएका छन् ।

“गाउँका युवा साथी रोजगारीको क्रममा शहर, बजार तथा वैदेशिक रोजगारीमा पुगेका छन्, गाउँ नै युवा नरहने अवस्था आयो, यहीँ केही गरौँ भनेर कुखुरापालनमा लागेको छु” उनले भने,–“यो व्यवसाय देखेर अरुले पनि केही सिको गरुन् भन्ने मेरो चाहना छ” ।

बिगत ७ वर्षदेखि उनी यो व्यवसायमा आबद्ध छन् । आफ्नै करिव ५ रोपनी जग्गामा चारैतिर घेराबार गरी कुखुरापालन गरिरहेका छन् । फार्ममा हाल करिव १७ सय ५० बोइलर जातका कुखुरा छन् । सुरुमा अण्डा उत्पादन र मासुका लागि कुखुरा पालेका अर्यालले अहिले भने मासु प्रयोजनका लागि मात्र कुखुरापालन गरेका छन् ।

फार्ममा हाल १ हजार बेच्न लायकका कुखुरा छन् भने ७५० हुर्कदै गरेका चल्ला छन् । ३ वटा ठूला पक्की खोरमा कुखुरापालन गरिएको छ । एकवटा गोदाम घर रहेको छ । कुखुरा बिक्रिका लागि बजारको समस्या छैन । रामपुर बजारमै सहजै बिक्रि हुने गरेको अर्यालले बताए । उनले १ वर्षमा १२ पटक सम्म कुखुराका चल्ला खरिद गर्ने र त्यसलाई हुर्काएर बिक्रि गर्ने गर्छन् ।

“संरचना व्यवस्थित र ठूलो भएकाले बजारलाई मध्यनजर गरी चल्ला राख्ने गरेको छु, कुन समयमा बजारमा कुखुरा बढी बिक्छ भन्ने राम्रो अनुभव छ, बजार पाएन भन्ने गुनासो छैन, सजिलोसँग बिक्रि भइरहेको छ” अर्यालले भने ।

यो व्यवसायमा संरचना व्यवस्थापनमा मात्रै करिव रु ५० लाख बराबरको लगानी परेको छ । लामो समयसम्म टिक्ने खालको संरचना तयार पारिएकाले लगानी धेरै परेको छ । वैदेशिक रोजगारमा युवाको लर्को लागिरहेका बेला आफ्नै गाउँमा बसेर केही नयाँ उद्यम गर्नुपर्छ भन्ने सोँच राखेर कुखुरापालन व्यवसाय सञ्चालन गरिएको उनले बताए । यस व्यवसायबाट वार्षिक रु ७ लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन् ।

स्थानीय सूर्योदय सहकारीबाट चल्ला फार्ममै आउने भएपछि व्यवसायमा चल्ला खरिदको समस्स्या नभएको उनले बताए । व्यवसाय धान्न एक जनालाई रोजगार समेत दिएका छन् । राम्रो धान फल्ने खेतलाई उनले बलियो र दीर्घकालिनसम्म टिक्ने खालको संरचना बनाएर व्यवसाय गरेका छन् ।

गाउँका ३ जना युवाको सहकार्यमा सुरु गरेको व्यवसाय डेढ वर्षदेखि अर्याल एक्लैले धान्दै आएका छन् । कुखुरापालन व्यवसायसँगै उनले माछापालन पनि गरेका छन् । व्यवसाय ठूलो र नमुना खालको भएकाले पनि फार्म अवलोकन गर्न जाने गरेको पाइन्छ । फार्ममै पुग्ने सडक सुबिधा भएपछि दाना ल्याउन र कुखुरा बिक्रिका लागि बजार लैजान धेरै सजिलो छ । अर्याललाई यस व्यवसायले दाम मात्र नभई समाजमा राम्रो पहिचान दिएको छ ।

बजार अवस्था, मौसम बुझेर व्यवसाय गर्ने हो भने आयस्रोत राम्रो लिन सकिने अर्यालको अनुभव छ । व्यवसाय सुरुवातका क्रममा झट्ट आम्दानी लिन खोज्ने, धैर्य भएर दीर्घकालिनसम्म व्यवसायमा टिक्न नसक्दा धेरै युवाले व्यवसाय बीचमै छाड्ने गरेका छन् । व्यवसाय सुरुवातका वर्ष धेरै आम्दानी गर्छु भनेर व्यवसाय गर्ने होइन, कसरी लामोसम्म टिकाउन सकिन्छ, निरन्तर रुपमा धैर्य गरेर व्यवसाय गरियो भने अवश्य पनि सफलता हात पर्ने उनले आफ्नो अनुभव सुनाए ।

पढे लेखेका युवा हिजोआज गाउँमा खासै भेटिदैनन् । गाउँघरमा पढेपछि जागिर नै खानुपर्छ भन्ने सबैको बुझाई छ । सानोतिनो भएपनि जागिरलाई नै महत्व दिने हाम्रो समाजमा युवा भुवन अर्यालले गरेको व्यवसाय लोभलाग्दो छ । रासस

 

You might also like

Comments are closed.