जग्गा भाडामा लिएर तरकारी खेती

सुशीला रेग्मी
रामपुर (पाल्पा) । पाल्पा रामपुर नगरपालिका ९ स्थित लाम्दीखोलाका नारायण भुषालले अहिले व्यावसायीक रुपमा तरकारी खेती सुरु गरेका छन् । करिव दुई दशक अर्काको देशमा मजदुरी गरेका भुषालले यतिबेला भने गाउँमा बसेर तरकारी खेतीमा तल्लिन छन् ।

रामपुर ७ स्थित बहखोलामा जग्गा भाडामा लिएर उनले करिव ५ रोपनी जग्गामा तरकारी लगाएका छन् । एक वर्ष अघि विदेशबाट फर्के लगत्तै उनले यो व्यावसाय थालनी गरेका हुन् । “लामो समयसम्म अर्काको देशमा पसिना बगाए, गाउँ फर्के लगत्तै जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको छु, अहिले तरकारी लगाउने, बेच्ने, रेखदेखमै व्यस्त छु” उनले भने ।

तीन वर्षका लागि वार्षिक रु ४० हजार बुझाउने गरी जग्गा भाडामा लिएका हुन् । बेमौसमी तरकारी उत्पादनलाई जोड दिएका छन् । अहिले काउली, ब्रोकाउली, बन्दा, धनिया, साग, मूला लगायतका तरकारी भुषालले लगाएका छन् । कुनै तरकारी हुर्कदै छन् भने कुनै विरुवा लगाउने गरिरहेका छन् ।

व्यावसाय सुरु गरेको पहिलो वर्षम नै राम्रो आम्दानी भएपछि भुषाललाई तरकारी खेतीमा उत्साह थपिएको छ । एक वर्षमा उनले रु ४ लाख बराबरको आम्दानी गरेको बताए । वार्षिक रुपमा रु ७ लाखसम्म आम्दानी गर्ने उनको लक्ष्य रहेको छ । रोजगारको क्रममा उनी भारतमा १३ वर्ष, मलेसिया ३ वर्ष र युएईमा ३ वर्ष पसिना बगाए । लामो समय अर्काको देशमा पसिना बगाउँदाको क्षण सम्झदा अहिले उनलाई पश्चाताप लागेको छ ।

उनी भन्छन्, “अर्काको देशमा धेरै दुःख छ, विदेशको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ, दिनमा कम्तिमा पनि १२ देखि १५ घण्टाको काम गर्नुपर्छ, तैपनि कामअनुसारको सुबिधा पाइदैन, आफ्नो देशमा त आनन्दले परिवारको साथमा काम गर्न पाइन्छ, यसमै आनन्द छ” ।
परिवारको समस्याले कक्षा ५ अध्ययन गर्ने क्रममा पढाईलाई बीचमै छाडेर भारतमा रोजगारीका लागि पुगेको उनले बताए ।

बाल्यकालमा परदेशको दुखकष्ट भोग्नुभएका भुषालले गाउँमै बसेर दिनमा दुई घण्टाको समय कृषि तथा पशुपालनमा खर्च गरियो भने रामै्र कमाउन सकिने बताउँछन् । उनलाई यो व्यवसायमा श्रीमती कल्पना भुषालले सघाएकी छन् । दुई जना छोराछोरीको पालनपोषण, पढाई खर्च, घरव्यवहारका लागि तरकारी लगाएर मज्जाले धान्न सकिने उनले बताए ।

रामपुर बजारमै तरकारी बिक्रि हुने भएपछि धेरै सजिलो भएको छ । व्यापारी घरमै आएर तरकारी खरिद गरेर लैजाने गरेको उनले बताए । तरकारी मात्र नभई विरुवा उत्पादन गरेर बिक्रि समेत गर्छन् ।

You might also like

Comments are closed.