सुशीला रेग्मी
रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा चौथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेला हुने भएको छ । रामपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १५ गतेदेखि २७ गतेसम्म मेला आयोजना गरिएको छ ।
सो सम्बन्धमा संघले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । संघको कार्यसमितिको विहिबार बसेको बैठकबाट निर्णय भए पश्चात् संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालको अध्यक्षतामा मेलाको मिति सम्बन्धमा जानकारी गराइएको हो ।
अध्यक्ष ढकालले रामपुर क्षेत्रको व्यापार, व्यवसाय प्रवद्र्धनका लागि मेला आयोजना गर्न लागेको बताए । उनले यस पटकको महोत्सव रामपुर क्षेत्रमा ठूला लगानी कसरी भित्र्याउन सकिन्छ भन्नेमा केन्द्रित रहने र यस क्षेत्रको उद्योग तथा व्यवसायलाई थप चलायमान गराउनका लागि आयोजना गरिएको जानकारी दिएका छन् । कालीगण्डकी उपत्यकाको पर्यटन प्रवद्र्धन, संघको निर्माणाधिन भवनलाई पूर्णता, घरेलु तथा कुटिर उद्योग र कृषिको उत्थान, यहाँ रहेका कला संस्कृतिको पनि जगेर्ना गर्ने मेलाको उद्धेश्य रहेको छ ।
“बिगतका भएका मेलाले रामपुर क्षेत्रको पहिचान बनाउन सफल भएको र अब हुने मेला ठूला लगानी भित्र्याउन, रामपुर क्षेत्रको व्यापार, व्यावसाय बिस्तारका लागि आयोजना गर्न लागिएको छ” अध्यक्ष ढकालले भने । संघले रामपुर नगरपालिका लगायत कालीगण्डकीबेशी क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकियस्थलको व्यापक प्रचार–प्रसार गर्ने, यहाँका कला र सांस्कृतिलाई विश्वमाझ चिनाउने, कृषिजन्य उत्पादनको बजारीकरण गर्ने लक्ष्य लिएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले स्वागत गर्दै यसभन्दा अघि गरिएका मेलाबाट धेरै अनुभव लिएको र सो अनुभवलाई अनुशरण गर्दै मेलालाई व्यवस्थित तरिकाले सभ्य र भव्य रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ तयारीमा लागेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले रामपुरमा आयोजना हुने महोत्सव यस क्षेत्रको पहिचान बढाएको बताउँदै मेला सफल बनाउन सञ्चारकर्मीको भरपुर सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।
संघको सभाहलमा भएको पत्रकार सम्मेलनमा पत्रकार दानु हिस्की मगर, इमान सिं राना, प्रकाश ज्ञवाली र रमा भण्डारी लगायतले मेलाका सम्बन्धमा आफ्ना सुझाव राखेका छन् । कार्यक्रमको सञ्चालन महासचिव खिमबहादुर क्षेत्री पुरुषोत्तमले गरेका हुन् ।
Comments are closed.