स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले २३ औं वार्षिक साधारण सभा मनाएको छ । शुक्रवार काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गको अध्यक्षतामा सभा भएको हो ।

सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (बोनस सेयरको कर प्रयोजनको लागि) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड ९७ लाख ८३ हजार ८५६ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

चालु आ.व.को असोज मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा तथा उपशाखा कार्यालय, ९ वटा इलाका कार्यालयमार्फत २ लाख ६१ हजार ७४५ महिला ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.२१ अर्ब ३१ करोड २१ लाख पुगेको छ भने सदस्यको बचत यस अवधिसम्ममा रु.१४ अर्व ३९ करोड १९ लाख रहेको छ ।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा सर्वसुलभ, गुणस्तरिय र ग्राहकमूखि सेवा विस्तारको योजना साथ संस्था अगाडि बढेको छ । संस्थाको जारी तथा चुक्ता पूँजी रु.१ अर्ब ६५ करोड ६६ लाख २५ हजार कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

साधारण सभाले संस्थाको सञ्चालक समितिमा रिक्त हुने सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकमा रविनकुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । आ.व.२०८१/८२ को लेखापरीक्षण गर्न सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरिएको छ ।

साथै अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थालाई मर्जर वा प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।

 

You might also like

Comments are closed.

Secret Link