आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले बजार पाउन थालेको छ । यसअघि आयात खुला हुँदा यहाँ उत्पादित महले बजार नपाउँदा थन्किएर बसेको थियो ।
नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्मा पौडेलका अनुसार अहिले १२ सय मेट्रिकटन मह बिक्री हुन बाँकी छ । सोमध्ये ३ सय मेट्रिकटन चितवनमा छ । यसअघि आयात खुला हुँदा ३ हजार १४५ मेट्रिकटन मह भण्डारणमा थियो ।
बाहिरबाट आयत गर्न सरकारले रोक लगाएसँगै यहाँ भण्डारण गरिएको मह बिक्री भएको हो । पूर्वअध्यक्ष शर्माले भने, “पुरानै मह भण्डारमा थन्किएको छ । आयात नखोल्दिने हो भने यो मह सकिन समय लाग्दैन ।” आयात खोले पनि भन्सार दर ६० प्रतिशतले वृद्धि गर्न आवश्यक रहेको उनले बताए ।

 

नेपालमा अहिले १ लाख ६० हजार घार मेलीफेरा र १ लाख ७० हजार घार सेरेना मौरी रहेको पूर्वअध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार यी घारबाट वार्षिक ४ हजार ९ सय मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । यस वर्षको उत्पादन लिन सुरु हुन लागेको शर्माले बताएका छन् ।

 

महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार सरकारले गत वैशाखदेखि महको आयातमा रोक लगाएको छ । उनी भन्छन्, “अहिले विदेशी ठूला कम्पनीलेसमेत नेपालको मह खरिद गरेर बिक्रीवितरण गर्दै आएका छन् ।”

 

आफूहरूले सरकारलाई आयात नखोल्न आग्रह गरेको अध्यक्ष घिमिरेले बताए । नेपालमा महको खपत वार्षिक ९ हजार २ सय मेट्रिकटन हुने गरेको जनाउँदै उनी भन्छन्, “नेपालको महले नेपालीलाई पुग्दैन तर विडम्बना किसानको घरमा मह थन्किएर बसेको छ ।”

 

भारतबाट आयात हुने सस्तो महसँग नेपालको उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको महासङ्घका अध्यक्ष घिमिरेको भनाइ छ । आयात रोकिए यहाँ उत्पादित महका लागि बजारको समस्या नहुने उनले बताएका छन् ।
You might also like

Comments are closed.