पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले अन्तर्राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा बिहीबार आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा नवप्रभात माध्यमिक विद्यालय पहिलो भएको छ ।
प्रतियोगितामा धर्मस्थली आधारभूत विद्यालयका विद्यार्थीहरु दोस्रो हुँदा नयाँबस्ती सिकाइ केन्द्रले तेस्रो र प्रगतिटोल सिकाइ केन्द्रले सान्त्वना स्थान प्राप्त गरे । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा श्रमिक तथा न्यूनआय भएका परिवारका बालबालिका एवं श्रममा रहेका बालबालिकाको हितमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
केन्द्रले पोखराका विभिन्न क्षेत्रमा बालबालिकाको लागि सिकाइ केन्द्रहरुमार्फत् शिक्षासमेत प्रदान गर्दै आइरहेको छ । प्रतियोगितामा सामाजिक विकास केन्द्रद्वारा सञ्चालित राम आधारभूत विद्यालय, विन्ध्यबासिनी मावि, शान्तिवन सिकाइ केन्द्र, गोस्ते सिकाइ केन्द्र, रामघाट सिकाइ केन्द्र, नवप्रभात माविको कक्षा ६,७ र ८ मा पढ्ने ३६ जना विद्यार्थीहरु सामेल थिए ।
‘हरेक बालबालिकाको लागिष् हरेक अधिकार’ भन्ने नारासहितको यो वर्षको बाल दिवसको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि किडासाका प्रमुख कार्यकारी अधिकृत जेनिस मिलर रहेकी थिइन् । किडासा बालबालिकाको हितमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो । प्रमुख अतिथि मिलरले बालबालिकाको लागि विजेता बन्नुभन्दा पनि सिकाइ महत्वपूर्ण विषय भएको बताइन् ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बालबालिकालाई पढ्ने र सिक्ने अवसर प्रदान गर्नु नै महत्वपूर्ण भएको बताउँदै सामाजिक विकास केन्द्रमार्फत् त्यही अवसर प्रदान गरिएको बताए । सामाजिक विकास केन्द्रका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले विपन्नताका कारण बालबालिकाको अधिकार हनन् नहोस् भन्नका लागि सिंगो समाज नै जागरुक बन्नुपर्ने बताए ।
सबैको हातेमालोबाट मात्र बालश्रम न्यूनीकरण र सबै बालबालिकाको अधिकार रक्षा हुने उनको धारणा थियो । सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालका अनुसार केन्द्रले निकृष्ट श्रममा रहेका बालबालिकालाई बाहिर निकाल्ने र उनीहरुको अधिकार रक्षाका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
Comments are closed.