निकुञ्ज आउने पर्यटक घटे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार ३५९ पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको सोही अवधिमा ५६ हजार ६७५ जनाले निकुञ्ज तथा सामुदायिक वनको अवलोकन तथा भ्रमण गरेका छन् ।

निकुञ्ज र आसपासका सामुदायिक वनमा चालु आवको ४ महिनामा ५६ हजार ६७५ जनाले अवलोकन गरेका बताउँदै निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले गत कात्तिकमा मात्रै २८ हजार २११ पर्यटकले भ्रमण गरेका जानकारी दिए । उनकाअनुसार साउनदेखि असोजसम्म २८ हजार ४६४ जनाले निकुञ्ज तथा सामुदायिक वनको अवलोकन तथा भ्रमण गरेका छन् ।

गत वर्षको ४ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा २० हजार ६८४ जना पर्यटक कम भएका निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिए । पछिसम्म झरिपरिरहेकाले सडक अवरोध भएर पर्यटकको सङ्ख्यामा कमी आएको उनको भनाइ छ ।

गत आवको असोजसम्म २८ हजार ४६४ र कात्तिकमा ४८ हजार ८९५ पर्यटकले निकुञ्जको भ्रमण गरेका मगरले जानकारी दिए । साउनदेखि असोजसम्म निकुञ्जभित्र पर्यटकीय गतिविधि रोकिने हुँदा पर्यटकको सङ्ख्यामा कमी आउने गरेको भन्दै सो समयमा सामुदायिक वनमा भने पर्यटकको आवागमन भइरहने गरेको उनी बताउँछन् ।

गतवर्ष विभिन्न नाकाबाट गरी ३ लाख ५ हजार १७० पर्यटकले निकुञ्ज तथा सामुदायिक वन क्षेत्रको अवलोकन गरेका निकुञ्ज कार्यालयले जनाएको छ । यहाँ घुम्न आउने पर्यटकले सौराहा, मेघौली, कसरा, अमलटारीलगायत नाकाबाट प्रवेश गर्ने गरेका छन् ।

सबै भन्दाबढी सौराहाबाट पर्यटक निकुञ्ज प्रवेश गर्दछन् । सामुदायिक वन तथा निकुञ्ज क्षेत्रमा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, अन्य वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन गर्न, स्वदेशीसँगै सार्कमूलुक र तेस्रो मुलकबाट पर्यटक जङ्गल सफारीका लागि यहाँ पर्यटक आउने गर्दछन् ।

You might also like

Comments are closed.