दक्ष कामदार उत्पादनमा देखिएका समस्यालाई समाधान गर्दै अगाडी बढ्ने

पोखरा । होटल क्षेत्रका लागि औपचारिक रुपमा दक्ष कामदार उत्पादन गर्ने क्रममा देखिएका समस्या र तिनलाई समाधान गर्दै अगाडि बढ्ने विषयमा बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरिएको छ ।

होटल संघ पोखरा नेपाल र दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजनाले कार्यक्रम आयोजना गरेका हुन् । कमाउँदै सिक्दै भन्ने मान्यता अनुरुप इन्स्योर अन्तर्गत सञ्चालित औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसिप) सञ्चालनको क्रममा आइपर्ने समस्यालाई कसरी निराकरण गरेर लैजान सकिन्छ भन्ने बारेमा कार्यक्रममा चर्चा गरिएको छ । सो अवसरमा संघ अन्तर्गतका होटलका सञ्चालक, व्यवस्थापक र मानव संशाधन विभागका कर्मचारी लगायत सहभागी थिए ।

स्वीस सरकारको आर्थिक तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा गण्डकी प्रदेश सरकारको समाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयले इन्स्योर परियोजना मार्फत् प्रि डिप्लोमा तहको २४ महिने अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को प्रिडिप्लोमा तह बमोजिम स्वीकृत पाठ्यक्रमको आधारमा २४ महिना अबधि तोकिएको हो । यस अवधिमध्ये साढे ३ महिना शिक्षालयमा र साढे १९ महिना औद्योगिक प्रतिष्ठानमा विद्यार्थीले बिताउँछन् । एक महिना पुनः शिक्षालयमा नै फर्कने प्रावधान रहेको छ ।

कार्यक्रम अन्तर्गत सूचना प्रविधि, इलेक्ट्रिकल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, अटोमोवाइल, होटल म्यानेजमेण्ट, भवन निर्माण, चिया प्रविधि र बच्चा स्याहार जस्ता ८ क्षेत्र समेटिएको विषयमा इन्स्योरका प्राइभेट सेक्टर इन्गेजमेण्ट विज्ञ लोकराज जोशीले प्रष्ट पारेका हुन् । होटल क्षेत्रको जनशक्तिले क्षमता अभिवृद्धि गरोस् र व्यवहारिक ज्ञान हासिल गर्न आउने प्रशिक्षार्थीलाई होटल क्षेत्रमा सौहार्द्र रुपमा स्वागत होस् भन्ने चाहना इन्स्योरको रहेको उनले प्रष्ट्याए । प्रशिक्षार्थीले बिचमै होटल छाडेर हिड्ने समस्या समाधानमा ध्यान दिनुपर्ने चर्चा समेत गरिएको छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रणाली मार्फत् नेपालका युवा, महिला तथा पुरुषलाई सामाजिक तथा आर्थिक लाभ प्रदान गर्ने, रोजगारी, श्रम बजारको आवश्यकतालाई सम्बोधन गर्ने र उद्योग तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति परिपूर्ति गर्ने उद्धेश्य रहेको छ । अप्रेन्टिसिप कार्यक्रम प्राविधिक शिक्षालय र उद्योग व्यवसाय दुवै स्थानमा सिकाइने (टिभेट) प्रकृतिको हो ।

कमाउँदै सिक्दै भन्ने मान्यता अनुशरण गर्दै सैद्धान्तिक र व्यवहारिक दुवै रुपमा अगाडि बढ्ने कार्यक्रमले क्षमता अभिवृद्धिमा पनि जोड दिएको छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिकको २५ प्रतिशत पारिश्रमिक, पोशाक खर्च, दैनिक रु १०० यातायात खर्च, प्रि डिप्लोमा तहको प्रमाणत्र लगायतका सुविधा प्रशिक्षार्थीका लागि रहेका छन् ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले होटल क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति आपूर्ति गर्न केही हदसम्म भएपनि कार्यक्रम सहयोगी हुने बताए । सीप सिकेको जनशक्ति बैदेशिक रोजगारीमा जाँदा पर्यटन क्षेत्रले कठिनाई भोग्नु परेको उनले बताए । हान केन्द्रका कोषाध्यक्ष युवराज श्रेष्ठले दक्ष जनशक्तिको अभावमा पर्यटन क्षेत्रका लागि ठूलो चुनौतिको रुपमा रहेको भन्दै अप्रेन्टिसिप कार्यक्रम त्यस्तो अभाव परिपूर्तिमा सहयोगी बताएका छन् ।

होटल संघ पोखरा नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले सहभागीलाई धन्यवाद दिदै अप्रेन्टिसिप कार्यक्रमको प्रशंसा गरे । सीटीईभीटी अन्तर्गतको पोखरा प्राविधि विद्यालयका प्राचार्य हर्कलाल श्रेष्ठ र धौलागिरी प्राविधिक शिक्षालयका प्राचार्य खड्गबहादुर सुब्बाले आफ्ना भनाइ राखेका छन् ।

You might also like

Comments are closed.