पोखरा । पोखरा ५ पर्स्याङस्थित शान्ति निकेतन स्कूलमा दुई दिवसीय वार्षिक खेलकुद कार्यक्रम सुरू भएको छ ।
स्पोर्ट्स मीटको नेपाल ओलम्पिक कमिटीका केन्द्रीय उपाध्यक्ष तेजबहादुर गुरूङले ब्यानरमा हस्ताक्षरसँगै कार्यक्रम संयोजक सुरज अधिकारीलाई बल हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे । उपाध्यक्ष गुरूङले अध्ययन सँगसँगै खेलकुदमा पनि विद्यार्थीकालबाटै लाग्नुपर्नेमा जोड दिँदै यसका लागि अभिभावकले नै प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याए ।
स्कूलका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कले राम्रो ज्ञान प्राप्त गर्ने हुँदा विद्यालयले पठनपाठनसँगै खेलकुदलाई पनि उत्तिकै महत्व दिँदै आएको बताए । विद्यालयका सल्लाहकार सोमनाथ भुर्त्यालले विद्यालयको अभिभावकको पक्षबाट हेर्दा विद्यालयको प्रगतिका कारण आफू निकै खुशी रहेको उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुर्त्यालले शान्ति निकेतनका विद्यार्थीको उत्कृष्ट नतिजाका कारण विद्यालय व्यवस्थापन टीम, शिक्षक, अभिभावक र विद्यार्थी सबै गौरवान्वित रहेको बताए ।
पत्रकार कमल पौडेल अथकले विद्यार्थीका लागि किताबी ज्ञानसँगै अतिरिक्ति ज्ञान तथा सीपको खाँचो रहने भएकाले खेलकुद, गायन, नृत्य, कलाका माध्यमबाट उनीहरुका अन्तर्निहित क्षमताको प्रस्फुटन गर्न यस्ता कार्यक्रम सहयोगसिद्ध हुने बताए । कार्यक्रममा सहप्राचार्य यदुविलास भुर्त्याल, परीक्षा संयोजक हेम सुवेदी लगायतले आफ्ना भनाइ राखेका छन् ।
प्रतियोगितामा भलिबल, फुटबल, टेबलटेनिस, चेस, सटपुट लगायतका खेल समावेश गरिएको छ । कूल २९० वटा पदकका लागि प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा सिनियर (कक्षा ६–९), प्राइमरी सिनियर (कक्षा ३–५), प्राइमरी जुनियर (कक्षा १–२), प्रि–प्राइमरी जुनियर (नर्सरी–यूकेजी), प्रि–नर्सरी तहमा प्रतिष्पर्धा गरिएको छ ।
स्पोर्ट्स मिट उद्घाटनका अवसरमा अभिभावकबीच गरिएको चम्चा दौड प्रतियोगितामा विजेता रिकु देवकोटा, दोस्रो स्थान प्राप्त गर्ने सुनिता भण्डारी र तेस्रो स्थान प्राप्त गर्ने दुर्गा सुवेदीलाई पुरस्कृत पनि गरिएको छ ।
Comments are closed.