पोखरा, ६ असार
गण्डकी प्रदेश सभाको शुक्रबार तय भएको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेको लागि बोलाइएको बैठक कार्य व्यवस्था परामर्श समितिको बैठकमा कुरा नमिलेपछि अपराह्न ३ः४५ बजे सूचना टाँस गरेर स्थगित गरिएको हो । सूचनामा बैठक विशेष कारणवश स्थगित गर्नुपरेको उल्लेख छ ।
तर श्रोतका अनुसार बजेटको रातो कितावमा आफूहरुले दिएको २७ योजना नपरेको भन्दै कांग्रेसले संसद अबरुद्ध गर्ने भनेपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो । कांग्रेस संसदीय दलको बैठकले आफूहरुको माग सम्बोधन नभए संसद बैठक अबरुद्ध गर्ने निर्णय नै गरेको थियो । कार्य व्यवस्था परामर्श समितिको बैठकमा सहमति नभएपछि कांग्रेसले केहिबेर मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग संसद भवनमै छलफल गरेको थियो । छलफलमा मुख्यमन्त्रीले बिपक्षीको माग सम्बोधनका बारेमा पछि छलफल गरेर निकास निकाल्ने बताएका थिए ।
सूचना टाँसेर बैठक स्थगित गरिएपछि नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । उसले संसदीय अभ्यास र लोकतान्त्रिक मान्यता बिपरित अन्तिम समयमा आएर बैठक स्थगित गरेको आरोप लगाएको हो । प्रमुख बिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बैठक सञ्चालन गरेर बिपक्षीलाई बोल्न दिएपछि मात्रै संसद स्थगित गर्नुपर्नेमा सूचना टाँसेर बैठक स्थगित गर्नु अलोकतान्त्रिक तरिका भएको टिप्पणी गरे । हामीले माग सम्बोधन नभए संसद अबरुद्ध गर्छौं भनेर जानकारी गराएका थियौं–उनले भने,‘तर सभामुखले सिधै बैठक स्थगित गर्नु भो, बैठक स्थगित गर्ने वा सञ्चालन गर्ने उहाँको अधिकार हो त्यसमा केहि छैन, तर बिरोध गर्छौं भनिसकेपछि बिपक्षीलाई बोल्न दिएर बैठक स्थगित गर्नुपथ्र्यो, त्यो उत्तम हुन्थ्यो ।’
नेता नेपालीले रातो किताव संवैधानिक रुपमा, कानूनी रुपमा र व्यवहारिक रुपमा पनि त्रुटीपूर्ण रहेको दाबी गरे । बजेटमा ३ वटा जिल्ला कास्की, नवलपुर र तनहुँ सिंचाई योजना विहिन् रहेको, कतिपय योजनामा बजेट दोहोरिएकोलगायतका कमजोरी रहेको उनको भनाई छ । नेता नेपालीले सरकारको प्रतिबद्धता भन्दा बाहिर सामाजिक विकास मन्त्रालय, पर्यटन र कृषि मन्त्रालयका बजेटहरु सभा, समाज, गोष्ठी आदि ईत्यादीमा केन्द्रीत रहेको बताउँदै यो सरकारको प्रतिबद्धता बिपरित र ब्यबहारिक रुपमा पनि राम्रो नभएकाले सच्याउनुपर्ने आफूहरुको माग रहेको बताए । उनले माग सम्बोधन नभए अर्को बैठकपनि अबरुद्ध गर्ने बताए ।
संसदको अर्को बैठक आइतबार मध्याह्न १२ बजे बोलाइएको छ ।
Comments are closed.