महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीद्वारा अपाङ्गता पहिचान तथा परिचयपत्र शिविरको अनुगमन

झापा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले अपाङ्गता पहिचान तथा परिचयपत्र शिविरको अनुगमन गरेका छन् । मन्त्री शाहसहित मन्त्रालयका सहसचिव ज्ञानहरी घिमिरे सहितको टोलीले झापाको कन्काइ नगरपालिकामा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविरको अनुगमन गरेको हो ।

अनुगमनका अवसरमा कन्काइ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मन्त्री शाहले अपाङ्गता भएका व्यक्तिलाई अधिकार सम्पन्न बनाउनका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच सशक्त समन्वय आवश्यक रहेकोमा जोड दिए । उनले कोशी प्रदेश सरकार, स्थानीय तहहरू र करूणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई अन्य प्रदेशमा समेत विस्तार गर्दै लैजाने व्यक्त गरेका छन् ।

मन्त्रालयका सहसचिव घिमिरेले सरकारको दीर्घकालीन योजना अन्तर्गत अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई देशव्यापी बनाउने तयारी भइरहेको जानकारी दिए । उनले कोशी प्रदेशमा भएका सकारात्मक उपलब्धिलाई उदाहरणीय मान्दै कार्यक्रमलाई प्रभावकारी बनाउन स्रोत र पूर्वाधारको अधिकतम उपयोग आवश्यक रहेको बताए ।

करूणा फाउन्डेसन नेपालका कार्यकारी निर्देशक दिपकराज सापकोटाले कार्यक्रमको दिगोपनाका लागि सरकारी साझेदारी अझ बलियो बनाउनुपर्नेमा जोड दिए । उनले कोशी प्रदेशका हरेक स्थानीय तहमा कार्यक्रम सुरु भएको ३ वर्षपछि करूणा फाउण्डेसनको वहिर्गमन हुने व्यक्त गर्दै सो पश्चात तीनै सहको सरकारमार्फत कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिए ।

कन्काइ नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नेपालको संविधान, अपाङ्गता अधिकार ऐन २०७४ र अन्य कानुनी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनका लागि आफुहरूले प्रदेश सरकार र करूणा फाउन्डेसनसँगको साझेदारीमा अपाङ्गताका क्षेत्रमा व्यापक रूपमा काम गर्न प्रारम्भ गरेको बताउदै संघीय सरकारलाई समेत आर्थिक तथा प्राविधिक सहयोगका लागि अनुरोध गरेका छन् ।
सरकारको १६ औँ पञ्चवर्षीय योजनाअन्तर्गत अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई क्रमशः देशभर विस्तार गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।

अन्य स्थानीय तहमा शिविरको प्रगति
अन्य स्थानीय तहमा सञ्चालन भइरहेका शिविर बारेको जिज्ञासामा करूणा फाउन्डेसन नेपालका बरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले आजसम्म कोशी प्रदेशका झापा, ताप्लेजुङ र तेह्रथुम जिल्लाका १०१ वडामा स्वास्थ्य परीक्षण तथा परिचयपत्र वितरण शिविर सम्पन्न भइसकेको छ । बाँकी १३४ वडामा आगामी पौष १५ भित्र शिविर सम्पन्न गर्ने योजनामा तीव्र गतिमा कार्य भइरहेको उल्लेख गरे ।

शिविरमा विशेषज्ञ चिकित्सक तथा प्राविधिकहरू सहभागी भई अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरणका कार्यहरू गरिरहेको उनले बताए । हालसम्म शिविर सम्पन्न भएका स्थानीय तहमा लगभग थप १६ सय जना अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् ।

You might also like

Comments are closed.

Secret Link