ऊर्जा क्षेत्रको विकासमा सरकार कटिबद्ध छः मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासका लागि सरकार कटिबद्ध भएर लागेको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले शुक्रवार साँझ यहाँ आयोजना गरेको मुलुकको विकासका लागि ऊर्जा क्षेत्रको भूमिका विषयक अन्तरक्रियामा उनले ऊर्जा क्षेत्रको विकास भए मात्र मुलुकको विकास सम्भव भएको बताएका हुन् ।

ऊर्जामन्त्री खड्काले नेपालले पछिल्लो समय भारतमा ९५० र बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरेको बताएका छन् । उनले सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राखे । कूल २८ हजार पाँच सय मेवावाट विद्युत् उत्पादन गर्न ४६ अर्ब अमेरिकन डलर लाग्ने मन्त्री खड्काको भनाइ थियो ।

मन्त्री खड्काले स्रोतमाथिको अधिकार गरिब तथा धनी सबै वर्गका लागि हुने भएकाले सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न वर्गका लागि सरकारले २ लाखदेखि ५ लाखसम्मको बिना सहुलियत धितोको व्यवस्था गरेको उल्लेख गरे । “हुने वर्गका लागि भन्दा पनि नहने वर्गलाई लक्षित गरी सरकारले काम गरिरहेको छ”, उनले भने ।

उनले आफूले राम्रो काम गरे पनि विभिन्न सञ्चार माध्यमले आफ्नो पछाडि लागेको भन्दै मुलुकको विकासका लागि नडराई काम गर्ने बताएका छन् । उर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणमा व्यापक सुधारको खाँचो रहेको उल्लेख गरेका छन् ।

ऊर्जामन्त्री खड्काले विद्युत् खरिद सम्झौता (पिपिए) चाँडो खुल्ने स्पष्ट पारे । मन्त्री खड्काले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने स्पष्ट पारेका छन् ।

You might also like

Comments are closed.