गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

घोराही (दाङ) । दाङको कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् ।

घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु ५ देखि ८ सय र मुढा बनाएर मासिक रु ४ देखि ५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन् ।

घरलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्ने गरेका छन् । घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ । साथै उक्त कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गर्दै आएको छ ।

“उत्पादित सामग्रीको किनबेचको व्यवस्था यहीँबाट मिलाइन्छ, भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्”, कार्यालय प्रमुख राठौरले भने । हरेक आइतबार, मङ्गलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ । एक सय जना क्षमताको कारागारमा ४१५ जना बन्दी छन् । रासस

You might also like

Comments are closed.