सुशीला रेग्मी
रामपुर (पाल्पा) । रामतुलसी नमुना माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सवको अवसरमा आईतवार पुरस्कार वितरण तथा खाना महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषकान्त भट्टराईको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम गरिएको हो । विद्यालयमा स्थापना भएका ३६ वटा अक्षयकोष रकमबाट करिव एक सय बढी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको प्रधानाध्यापक बालकृष्ण लम्सालले जानकारी दिए ।
लुम्बिनी प्रदेशका अर्थ, उद्योग र पर्यटन विकास समितिका सभापति राजुप्रसाद श्रेष्ठ, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, वडा नं ४ का वडाध्यक्ष रामबहादुर राना, ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, विद्यालय व्यवस्थापन समिति, अक्षयकोषदाता लगायतले विद्यार्थीलाई पुरस्कार वितरण गरेका हुन् । कार्यक्रमको सञ्चालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गरेका हुन् । कार्यक्रमको अवसरमा विद्यार्थीले रमाईलो साँस्कृतिक प्रस्तुती देखाएको थिए ।
विद्यालय प्राङ्गणमा राखिएको खाना महोत्सवले अवलोनकर्ताको मन जितेको छ । विद्यालय प्राङ्गणमा विद्यार्थीले तयार पारेका २५ वटा खानाका परिकार कक्ष र दशवटा विज्ञान प्रयोगशाला तथा कृषि प्रदर्शनी कक्ष राखिएको थियो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीले समुहमा आफै खाना बनाउने र प्रदर्शनी कक्षबाट बिक्रि गर्ने कार्य गरेका हुन् ।

स्थानीय परिकारहरु तयार गरी महोत्सवको प्रदर्शनी कक्षमा राखिएको थियो । स्थानीय खानाको प्रवद्र्धन गर्न, विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउँदै बृहत् रुपमा खाना महोत्सव आयोजना गरिएको हो । कक्षा ११ देखि माथिका विद्यार्थी समुहले भने विज्ञान प्रयोगशाला तथा कृषि प्रदर्शनी कक्षा तयार पारेर प्रदर्शनी गरेका थिए ।
यहाँ आयोजना गरिएको प्रदर्शनी कक्ष नयाँ कुरा सिक्ने थलो बनेको छ । सेलरोटी, बटुक, पकौडा, मकै, भट्टमास, सिस्नोको परिकार, अचार, थारुखाजा, योमरी, मःम जस्ता थरीथरीका स्वादिलो परिकारले अवलोकनकर्ताको मन जितेको छ । सोमवार विद्यालयले एक कार्यक्रमका साथ ५७ औँ वार्षिकोत्सव मनाउँदैछ ।






Comments are closed.