सुशीला रेग्मी
रामपुर (पाल्पा) । रामपुर नगरपालिकाबाट अब राहदानी तथा राष्ट्रिय परिचय पत्र सेवा विस्तार गरिने भएको छ । सदरमुकाम तानसेनबाट प्रवाह हुँदै आएको सो सेवा पुर्वी पाल्पाका नागरिकलाई सहज सेवा दिन इलाका प्रशासन कार्यालय रामपुरले थप सेवा विस्तार गर्न लागेको हो ।
बुधवारदेखि कार्यालयबाट राहदानी तथा राष्ट्रिय परिचय पत्र सेवा विस्तार गर्ने तयारी गरेको कार्यालय प्रमुख गणेशबहादुर कार्कीले जानकारी दिए । कार्यालयको नवनिर्मित भवन उद्घाटनको अवसर पारेर कार्यालयले सेवा विस्तार गर्न लागिएको हो । नवनिर्मित भवनको उद्घाटन, राहदानी तथा राष्ट्रिय परिचय पत्र सेवा शुभारम्भ गृहमन्त्री रमेश लेखकबाट हुने कार्यक्रमको तयारी भएको छ ।
राहदानी तथा राष्ट्रिय परिचय पत्र सेवा प्रदानको लागि आवश्यक उपकरण आइसकेको कार्यालय प्रमुख कार्कीले बताए । भाडाको घरबाट सेवा दिदै आएको कार्यालयले यस आर्थिक वर्षदेखि नयाँ भवनबाट सेवा दिइरहेको छ । पछिल्लो समय औसतमा दैनिक ६० वटा नेपाली नागरिकता जारी हुने गरेको कार्यालयले जनाएको छ ।
रामपुर नगरपालिकाको १० वटै वडा, पूर्वखोला गाउँपालिकाको वडा नं. १ र निस्दी गाउँपालिकाको वडा नं. १ देखि ६ सम्मका वडाका नागरिकले यस कार्यालयबाट सेवा लिदै आएका छन् । रामपुर, निस्दी र पूर्वखोलाका १७ वटा वडाका नागरिक प्रत्यक्ष लाभान्वित बनेका छन् । कार्यालयबाट यसअघि नेपाली नागरिकता वितरण, नाबालक परिचय पत्र, दलित, जनजाति प्रमाणित लगायतका सेवा प्रवाह भइरहेको छ । यी सेवासंगै अब राहदानी तथा राष्ट्रिय परिचय पत्र सेवा थपिएको छ ।
रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाड बजारमा अवस्थित प्रशासन कार्यालयको चौध कोठासहितको साढे दुई तलाको नयाँ भवन निर्माण गरी सञ्चालनमा छ । रु ४ करोड ५६ लाख ७७ हजार ५७१ बराबरको लागतमा गत असारमा भवन निर्माणको कार्य सम्पन्न भएको हो । आधुनिक प्रविधिबाट निर्माण भएको अपाङ्गमैत्री कार्यालय भवनसंगै सुरक्षा कर्मचारी गृह (गार्ड हाउस), चमेनागृह तथा पर्खाल निर्माण गरिएको छ ।
सेवा सुचारु भएसँगै राहदानी र राष्ट्रिय पत्रका लागि सदरमुकाम तानसेन पुग्नुपर्ने बाध्यता सदाका लागि हट्ने भएको छ । कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । वि.सं २०७३ मा तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालय स्थापनाको शुभारम्भ गरी सेवा प्रारम्भ भएको हो ।
Comments are closed.