रामपुरमा रु २६ करोड बढीको लागतमा सडक स्तरोन्नतीको काम धमाधम हुँदै

सुशीला रेग्मी
रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा सडक स्तरोन्नतीको काम धमाधम भइरहेको छ । रामपुरलाई नमुना शहरको रुपमा विकास गर्ने गरी यहाँका सडकको स्तरोन्नती तथा कालोपत्रे निर्माणको कामलाई जोड दिइएको छ ।

ग्रामीण विकास तथा साना शहरी पूर्वाधार आयोजना अन्तर्गतको रामपुर नगरपालिका वडा नं ५ र ६ मा पर्ने सहायक सडकहरुको स्तरोन्नती कार्य भइरहेको छ । लुम्बिनी प्रदेश सरकार, शहरी विकास मन्त्रालयमार्फत करिव नौ किलोमिटर सडक स्तरोन्नती हुनेछ । सडकको बीच रेखाबाट दायाँबायाँ दुबैतिर चार/चार मिटर गरी आठ मिटर सडकको क्षेत्राधिकार रहेको छ ।

कुल रु २६ करोड ७१ लाखको लागतमा आयोजनाको काम सञ्चालन गरिएको छ । आयोजना सञ्चालनका लागि प्रदेश र संघ सरकारको समपूरक कोषबाट वजेट विनियोजन भएको छ । सडक स्तरोन्नतीका लागि रामपुर नगरपालिकामा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनाको कार्य हो । यस आयोजना अन्तर्गत रामपुर ५ स्थित सिमलघारी बसपार्क क्षेत्र अन्तर्गत जोडिएका विभिन्न सडक क्षेत्रको काम हुनेछ ।

गजेन्द्र/विकेबि जेभी निर्माण सेवाले निर्माणको काम जिम्मा लिएर काम गरेको छ । २०८१ वैशाख २८ गते सम्भmौता भई जेठबाट काम सुरु भएको हो । यस आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । आयोजना अन्तर्गत नाली निर्माणको काम लगभग सकिएको छ ।

रामपुरलाई नमुना शहरको रुपमा विकास गर्ने उद्धेश्यसहित यस योजनाका काम भएको छ । बिगतमा भएका सडक विस्तारको कामलाई यस आयोजनामा समेटिएको छ । तोकिएको समयमा काम सम्पन्न गर्ने गरी आयोजनाको कामलाई तीव्र गतिमा अगाडी बढाइएको रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए । उनका अनुसार हाल दैनिक एक सय कामदार परिचालन गरी काम गरिएको छ ।

“वजेट प्राप्त भएर मात्र हुदैन, कार्यान्वयन गराउनु ठूलो कुरा हो, वजेट फ्रिज नहुने गरी काम गरेका छौँ, यस कार्यमा जनप्रतिनिधि सक्रिय भएर लागेका छौँ, आयोजना सञ्चालनको क्रममा स्थानीयको विवादलाई सहजिकरण गरेर काम गरेका छौँ” उनले भने ।

पोखरा, काठमाडौं, नारायणगढ, बुटवल, भैरहवा शहरसंग जोडिएको रामपुर भविष्यमा देशकै ठूलो शहर बन्ने सम्भावना प्रशस्त रहेकाले पूर्वाधार विकासका काममा नगर सरकारले प्राथमिकता दिएर काम गरिररहेको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । शहरी विकास आयोजनाको काम सम्पन्न भएपछि रामपुर एउटा नमुना शहरको रुपमा विकसित हुने, यस आयोजनाले रामपुरको पर्यटन, कृषि, उद्योग, व्यापार, व्यवसायमा ठूलो परिवर्तन ल्याउने नगर प्रमुख थापाले बताए ।

“ठूलो कसरतले मात्रै यस आयोजना रामपुरमा पार्नका लागि सफल भएका छौँ, यसै आर्थिक वर्षमा निर्माणको काम सक्ने गरी अहिले कामलाई दु्रत गतिमा गरिरहेका छौँ” नगर प्रमुख थापाले भने,–“विकास निर्माणमा यो आयोजना अहिलेसम्मकै ठूलो रहेकाले यसले रामपुरको विकासमा महत्वपूर्ण प्रभाव पार्नेछ” ।

तोकिएको मितिमा गुणस्तरिय काम सम्पन्न गराउन निर्माण कार्य भइरहेका स्थलमा जनप्रतिनिधिबाट निरन्तर अनुगमन तथा निरिक्षणको कार्य भइरहेको नगर प्रमुख थापाको भनाइ छ । आयोजना ठूलो रहेकाले पनि काममा ढिलासुस्ती हुन नदिन सरोकारवाला कार्यस्थलमा बेला बेलामा पुग्ने गरिरहेको नगर प्रमुख थापाले बताए । यहाँका १३ वटा सडक छनौट गरी काम थालनी गरिएको छ ।

छनौटमा परेका आयोजना अन्तर्गत सिमलघारी बसपार्कदेखि सहिदपार्कसम्म ४ सय मिटर, सिमलघारी बसपार्कदेखि ठूलोटार करिडोर (मटेरी) सम्म ५ सय मिटर, सिमलघारी बसपार्कदेखि रामघाट ९२० मिटर, सिमलघारी बसपार्कदेखि भम्बक करिडोरसम्म १ हजार १४० मिटर, सिमलघारी बसपार्कदेखि राम्चेमार्गसम्म ३१० मिटर सडक स्तरोन्नती गरिनेछ ।

यस्तै सिमलघारी बसपार्कदेखि सुन्दरटोल गैरीपथ नौ सय मिटर, बेझाड बजार क्षेत्र, बाङ्गेपसल, सहकारी भवनसम्म १ हजार ८३० मिटर, सिमलघारी बसपार्कदेखि हडेनी खोल्सीसम्म ३६० मिटर, सिमलघारी बसपार्कदेखि मालपोत कार्यालय ३ सय मिटर, सिमलघारी बसपार्कदेखि बाँझोबारी ६७० मिटर, सिमलघारी बसपार्कदेखि गौशाला सम्म १ हजार १९० मिटर, सिमलघारी बसपार्कदेखि गौरीघाट सडकसम्म ५३८ मिटर, दध्रानदेखि पुलिस स्टेशनसम्म ३७० मिटर सडक यस आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी स्तरोन्नती काम चलिरहेको रामपुर ५ का वडा सदस्य युवराज शाही बताउँछन् ।

यी सडकले रामपुरको मुख्य बजार बेझाड बजार, बसपार्क, नगरपालिका कार्यालय, मालपोत तथा नापी कार्यालय, इलाका प्रशासन कार्यालयसंग जोडेको छ । नगरपालिका कार्यालय अगाडी पार्क निर्माण गरिने आयोजनामा समेटिएको छ । नगरपालिका तथा वडाबाट विनियोजन गरेको साना रकमले ठूला आयोजना एकै पटक सञ्चालन गर्न कठिनाई पर्ने हुन्छ । हाल यहाँ परेको ग्रामीण विकास तथा साना शहरी पूर्वाधार आयोजनाले रामपुरको मुहार फेर्ने स्थानीय बताउँछन् ।

lcci
You might also like

Comments are closed.