फर्निचर अभावमा बोरा ओच्छ्याएर पढ्दै विद्यार्थी, ७ वर्षदेखि शिक्षकले तलब पाएनन्

चन्द्रपुर (रौतहट) । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । बकैया नदीको ‘ड्याम’मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो ।

विद्यालयमा कुनै किसिमको फर्निचर तथा भवन नभएकै कारण अध्ययन गर्ने बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्दै आएका छन् । भवनको नाममा दुईवटा स–साना छाप्रो छन् । अहिले पनि सो विद्यालयमा अध्ययन गर्ने बालबालिका भुइँमा नै बसेर अध्ययन गरिरहेका छन् । सो विद्यालयका कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले पढ्ने वातावरण नै नभएको बताइन् । विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन भएका उनको गुनासो छ ।

स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय केही छैन । अर्का विद्यार्थी सुवोधकुमार पटेलले पनि फर्निचर अभावमा पढ्न कठिनाइ भएको बताए । अहिले फर्निचर र भवनमात्र भए पनि पढ्न सहज हुने पटेल बताउँछन् । बाल विकास कक्षामा अध्ययन गर्न बालबाललिकाले बोरा लिएर जाने गरेका छन् । घरबाट बोरा नल्याउनेले चिसो भुइँमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हीरालालप्रसाद यादवले बताए ।

हाल उक्त विद्यालयमा चारजना बाल विकास शिक्षिका, दुई सङ्घीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । स्थापना भएको १७ वर्षमा सो विद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक छैनन् । विद्यालयमा अध्ययन र अध्यापन गराउन एकदमै असहज भएको छ । विद्यालय स्थानीय तह मातहत आएको ८ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्थामा परिर्वतन नहुनु राजनीतिक मतभेद भएको बुझिन्छ ।

सोही विद्यालय स्थानन्तरणका लागि २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित फतुवा विजयपुर नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष सञ्जय साहले ४ कठ्ठा जमिन खरिद गरेर पाँचकोठे भवन बनाएका थिए । तर उक्त जमिन रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको तराई मधेश समृिद्ध प्रतिष्ठानका नाममा खरिद गरेका कारण विद्यालय सार्न नसकिएको प्रधानाध्यापक यादवले जानकारी दिए ।

विद्यालयका नाममा बजेट लिएर जमिन र भवन विद्यालयको नाममा नगर्दा विद्यार्थीले सास्ती खेप्नुपरेको प्रधानाध्यापक यादवले बताए । विसं २०७९ मा निर्वाचित नगरप्रमुख निलम्बनमा परेको र हालका कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले विद्यालयको अवस्थाबारे चासो नदिएको उनले बताए । सामान्य वर्षा र प्रचण्ड गर्मीमा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको छ । मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र यादव सोही नगरका भए पनि विद्यालयको समस्या समाधान नभएकामा उनी खिन्न छन् ।

साउनदेखि खाजा खुवाउन सकेको छैन

पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गत साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यपक यादवले जानकारी दिए । बाढीले हाजिर रजिष्ट्रर बगाएको स्मरण गर्दै प्रअ यादवले भौतिक पूर्वाधार अभाव झेल्नुपरेको गुनासो सुनाए । विद्यालयमा १७५ विद्यार्थी छन् ।
यो विद्यालयमा ६० प्रतिशत छात्रा र ४ शिक्षिका छन् । शौचालय अभावमा उनीहरू दिसापिसाप गर्न आफ्नै घर वा नजिकैको उखुबारी जानुपर्ने बाध्यता छ ।

७ वर्षदेखि तलबविहीन

सोही विद्यालयमा अध्यापनरत एक शिक्षकले ७ वर्षदेखि तलबविहीन भएर काम गरिरहेको गुनासो गरे । विसं २०७५ असोज ६ गते आफूले राहत दरबन्दीमा नियुक्त भएको तर हालसम्म एक रूपैयाँ तलब नपाएको शिक्षक रामप्रवेश बैठा धोबीले बताए । फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय यादवले तलब दिने आश्वासन दिएको तर कहिले पाउने हो टुङ्गो नभएको शिक्षक धोबीले बताए । सोही विद्यालयका प्रधानाध्यापक हीरालाल यादवले भने विद्यालयमा राहत दरबन्दी नै नभएको जानकारी दिएका छन् ।

फतुवा विजयपुर नगरपालिका–१ का वडाध्यक्ष विजयकुमार यादवले चाँडै अर्को ठाउँमा सो विद्यालयका लागि जमिन खरिद गर्ने जानकारी दिए । वडाध्यक्ष यादवले जमिन खरिद गरेर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

lcci
You might also like

Comments are closed.